July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

युवापुस्ता कृषिमा रमाउँदै

रुकुम पूर्व- सानै उमेरमा विदेश गएर धेरै दुःख पाएका सिस्ने गाउँपालिका वडा नं ५ रुमालबाराका वसन्त मल्लले अहिले घरमा फर्केर भैँसीपालन व्यवसाय सुरुवात गरेका छन् । उनलाई विदेशमा गर्ने दुःखको आधा दुःखले पनि स्वदेशमै राम्रो पैसा कमाउन सकिँदोरहेछ भन्ने लागेको छ । 

Advertisement

उनीसँग अहिले आधा दर्जन भैँसी छन् । रुकुमकोटमा दूधको माग निकै बढेको छ । दैनिक पाँच सयदेखि हजार लिटरको माग आउने बजारमा अहिले १७/१८ लिटरदेखि लिएर ४०/५० लिटरसम्म मात्र दूध उत्पादन गरेर बजारमा पुर्‍याउने गरेको उनले बताए ।

Advertisement

यस्तै सिस्ने –६ की निशा हमालले पनि जग्गा भाडामा लिएर तरकारी खेती गरेकी छिन् ।  गएको वर्षमा एक रोपनी जग्गा भाडामा लिइ थोरै लगानीबाट सुरु गरेको तरकारी खेती अहिले भने १० रोपनी क्षेत्रमा विस्तार भएको छ । खेती गरिएको सबै जमिन शाहीले लिजमा लिएकी हुन् । व्यावसायिक कृषिबाट राम्रो आम्दानी गर्न सकिन्छ भने आफूलाई लागेपछि तरकारी खेती सुरु गरेकी शाहीले अहिले आफ्नो श्रीमान्लाई समेत स्वदेश फर्काएकी छिन् । कृषिमै भविष्य देखेकी शाहीले दुई–चार वर्ष विदेश बसेका श्रीमान्लाई स्वदेश फर्काएपछि अहिले दुवै जना एकअर्कालाई सहयोग गर्दै कृषि कर्ममा रमाइरहेका छन् । 

रुकुमपूर्वकै पुथाउत्तरगङ्गा गाउँपालिकामा पनि सामूहिक बङ्गुरपालन सुरु भएको छ । वडा नं १२ कोलमा स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत सामूहिक रूपमा बङ्गुरपालन सुरु गरिएको हो । अहिले कोलमा उन्नत जात र स्थानीय जातको बङ्गुरपालन गरिएको छ । बङ्गुरपालन व्यवसायबाट आम्दानी राम्रो हुने स्मार्ट कृषि कोलगाउँका अध्यक्ष प्रेमकुमार गुरुङले बताए । उनले जस्तै अन्य व्यक्तिले पनि व्यावसायिक कृर्षितर्फ पाइला अघि बढाएका छन् ।

अहिले जिल्लामा उनीहरूले कृषि पेशालाई अँगालेर जुन खालको मेहेनत गरिरहेका छन् यो साँच्चिकै उदाहरणीय छ । मान्छेले विदेशकै सपना देख्ने र स्वदेशमा भएकाहरू पनि गाउँमा काम छैन भनेर सहरबजार केन्द्रित हुँदै गर्दा कृषिबाटै उदाहरणीय काम गरी जीवनस्तर परिवर्तन गर्न सकिन्छ भनेर उनीहरुले सन्देश दिइरहेका छन् । 

युवा जमात सबै विदेशिँदा जन्ती र मलामी भेट्नै गाह्रो परेको अवस्थामा गाउँमै कृषिमा रमाइरहेका युवापुस्ताले केही हदसम्म त्यो अभावलाई बिर्साइदिएका छन् ।