March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

मोबाइल बैंकिङ तालिम

तिलोत्तमा– एफइसी धनकोष बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–९ मंगलापुरले शनिबार आफ्ना सदस्यहरुलाई मोवाइल बैंकिङ सम्बन्धी तालिम दिएको छ ।

Advertisement

सहकारीले आफ्नै मोबाइल एप सञ्चालनमा ल्याउँदा पनि यसका सदस्यहरु अझै मोवाइल बैंकिङमा अभ्यस्त हुन नसकेकाले उनीहरुलाई प्रविधिमा दक्ष बनाउन तालिम आयोजना गरिएको सहकारीका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिए ।

Advertisement

तालिमको उदघाटन तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष रमेश डुम्रेले गरेका थिए । त्यस अवसरमा उनले अव घरमै बसेर बैंकिङ कारोबार गर्न सकिने भएकाले प्रविधिको प्रयोगलाई बढाउन र यसबाट फाइदा लिन आग्रह गरे ।

सहकारीका अध्यक्ष तारानाथ कंडेलले मोवाइल बैंकिङको प्रयोगले सदस्यहरुको समयलाई पनि बचत गर्ने भन्दै सहकारीको किस्ता भुक्तानीदेखि लिएर विभिन्न क्षेत्रको रकम भुक्तानीका लागि समेत मोवाइल बैंकिङ सजिलो र भरपर्दो माध्यम रहेको बताए । उनले सहकारीका सदस्यहरुलाई सहकारीले सञ्चालन गरेको मोवाइल बैंकिङ एपबाट आफ्नो कारवार सञ्चालन गर्न आग्रह समेत गरे ।

तालिममा इन्फो डेभलपर्स बुटवलका सञ्चालक सुमित पराजुलीले सहजीकरण गरेका थिए । उनले मोवाइल एप चलाउने तरिका, यसका फाईदाहरु, यसमा रहेका विभिन्न सुविधाहरुलगायतका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रम संयोजक लोकनाथ कंडेलले सहकारीको शिक्षा उपसमितिले बिगतमा सदस्यहरुका लागि विभिन्न तालिम चलाउँदै आएपनि कोभिडका कारण डेढ दुई वर्षयता कार्यक्रम गर्न नसकिएको भन्दै अवका दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । सहकारीका वरिष्ठ व्यवस्थापक ज्ञवालीले सहकारीको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए । तालिममा करिव ७० जनाको सहभागिता थियो ।