तीन तहका सरकारबीच समन्वय नहुँदा सडक अलपत्र
नवलपरासी– स्थानीय, प्रदेश र केन्द्रको समन्वय नहुँदा पश्चिम नवलपरासीस्थित एक सडक अलपत्र परेको छ । पाल्हीनन्दन गाउँपालिका अन्तर्गत रहेको ११ किलोमिटर सडक अलपत्र बनेको छ ।
पाल्हीनन्दनको साविक केन्द्रदेखि प्रतापपुर गाउँपालिकाको गोपीगन्ज बजारसम्म सडक जीर्ण छ । स्थानीय तहले प्रदेशअन्तर्गतको सडक र प्रदेशले केन्द्रअन्तर्गतको सडक भन्दै मर्मत सम्भारमा चासो नदिँदा सडकमा खाल्टाखुल्टी र पानी जमेर हिंडडुल गर्न नसकिने अवस्थामा पुगेको छ ।
सडकमा साना सवारी र एम्बुलेन्स सञ्चालनमा समेत असहज हुने गरी खाल्टाखुल्टी भए पनि वर्षौंदेखि मर्मत सम्भार नहुँदा समस्या बढेको स्थानीयको गुनासो छ । ‘संघीयताभन्दा अगाडि भौतिक योजना मन्त्रालयले यसको संरक्षण र मर्मत गर्दै आएको थियो । संघीयतापछि यो सडकको बेहाल भएको छ,’ गण्डक जल तथा उपभोक्ता समितिका अध्यक्ष हैदर अलीले भने, ‘नहरसँगै जोडिएको सडक भएकाले यसअघि हामीले पटक–पटक यसको मर्मतसँभार गर्न माग गरे पनि स्थानीय, प्रदेश वा केन्द्र कुन निकायले यसको स्वामित्व लिने भन्ने विषयमा अन्योल भएपछि अलपत्र परेको छ ।’
यो खण्डले पाल्हीनन्दन, सरावल र प्रतापपुर गाउँपालिकालाई जोड्छ । स्थानीय तहले भने दुईवटा स्थानीय तह जोड्ने सडक निर्माणको मर्मत प्रदेश सरकारको जिम्मा भएको बताउँछन् । पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले प्रदेश सरकारमा सडक पक्की बनाउन योजना पेस गरिएको र तत्कालका लागि सामान्य मर्मत गरेर हिंडडुल गर्न सहज बनाउने बताए ।
वर्षा सुरु नहुँदै सडकको यो दुरावस्था छ भने वर्षा सुरु भएपछि पैदल आवातजावतमा पनि समस्या हुने भन्दै स्थानीयले तत्काल मर्मत गर्न माग गरेका छन् ।
प्रतिकृया दिनुहोस्