September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

ठेक्का रद्द गर्ने चेतावनी

भैरहवा– रुपन्देहीको बेलहिया–बुटवल सडकको व्यापारिक मार्ग बिस्तार आयोजनाले ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएको छ । निर्माण सम्झौता भएको ६ वर्ष भइसक्दा पनि सडक निर्माणको काम सम्पन्न नभएपछि सडक विभागले शुक्रबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने कारण पेश गर्न भनेको छ ।

Advertisement

सडक बिस्तारको लागि सम्झौता भएको लामो समयसम्म पनि निर्माण पूरा नगरेको भन्दै आयोगजनाले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएको हो । तीन वर्षभित्र सक्ने गरी काम थालिएको बुटवल–बेलहिया सडक विगत १० वर्षदेखि अलपत्र छ । आर्थिक वर्ष २०६८–६९ बाट निर्माण थालिएको यो सडक ६ लेनको व्यापारिक मार्गका रुपमा निर्माण गर्ने गरी अघि बढाइएको हो ।

Advertisement

आयोजनाले निर्माण कार्य सम्पन्न गर्ने तर्फ कुनै चासो नदेखाएको भन्दै सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ बमोजिम ठेक्का सम्झौता रद्द गर्ने भनेको छ । व्यापारिक मार्ग बिस्तार आयोजना बेलहिया–बुटवल सडकले ठेक्का लगाएका कार्यको न्यून कार्य प्रगति भएको, म्याद समाप्त भएका र कुनै समस्याबिना पनि लामो समयसम्म निर्माणको कार्य रोकिएको भन्दै सूचना प्रकाशित गरेको छ ।

आयोजनाले ठेक्का सम्झौता अन्त्य किन नगर्ने ? ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने कुनै मनासिव कारण भएमा ७ दिन भित्र भरपर्दो कार्यतालिका र विश्वसनीय स्पष्टिकरण सहित आधिकारिक व्यक्तिहरु कार्यालयमा उपस्थित हुन भनेको छ । ‘सार्वजनिक खरिद ऐन,२०६३ तथा नियमावली, २०६४ र ठेक्का सम्झौताको शर्त बमोजिम ठेक्का सम्झौता अन्त्य किन नगर्ने ? ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने कुनै मनासिव कारण भएमा ७ (सात) दिन भित्र भरपर्दो कार्यतालिका र विश्वसनीय स्पष्टिकरण सहित आधिकारिक व्यक्तिहरु यस योजना कार्यालयमा उपस्थित हुन यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ’, आयोजनाले प्रकाशित गरेको सूचनामा भनिएको छ ।

आयोजनाका सूचना अधिकारी सविता ज्ञवालीले बिरुवा–श्रेष्ठ–एपेक्स जेभीका ठेकेदार सुवित श्रेष्ठ काठमाडौंलाई पत्र समेत पठाएकी छन् । स्पष्टीकरण चित्तबुझ्दो नभएमा ठेक्का सम्झौताका सर्त र सिओसी तथा प्रचलित ऐन–नियम अनुसार कानुनी कारबाही अगाडि बढाउने आयोजनाको भनाइ छ ।
आयोजनाले तीन वटा ठेक्का तोड्ने गरी प्रक्रिया थालेको हो । अरु खण्डको निर्माण कार्य गरिरहेका अन्य जेभी निर्माण कम्पनीहरु बिरुवा/श्रेष्ठएपेक्स जेभी काठमाडौं र द कञ्चनजंगा/बिरुवा जेभीको पनि ठेक्का तोड्न प्रक्रिया अगाडि बढाइएको आयोजनाले जनाएको छ ।

निर्माण कार्य अगाडि बढाउन विभिन्न मितिमा लिखित तथा मौखिक ताकेता गर्दा समेत सन्तोषजनक कार्य प्रगति नभएको, निर्माण कार्य प्रगति गराउन तथा परिमार्जित कार्य तालिका पेश गर्न सम्बन्धित कार्यालयको पत्र सूचनालाई समेत बेवास्ता गरी निर्माण कार्य सम्पन्न नगरेको सूचनामा उल्लेख छ ।