March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

राष्ट्रिय ध्वजाबाहक बिमान भैरहवाबाट पनि संचालन गर्न माग

भैरहवा– दुई महिना अघिदेखि संचालनमा आएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको विमानबाट पनि उडान संचालन गर्न भैरहवाका व्यवसायीले माग गरेका छन् ।

Advertisement

व्यवसायीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्कालै भारतको दिल्ली हवाइ उडान संचालनका लागि पहल गर्न पनि सरकार समक्ष माग गरेका छन् । यहाँका उद्योगी–व्यवसायीले नेपालले समकक्षी राष्ट्रहरुसँग समन्वयगरि लुम्बिनीलाई गन्तब्य बनाएर बढीभन्दा बढी बौद्ध धर्मावलम्बी रहेका मुलुकमा हवाइ उडान संचालन गरि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा संचालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Advertisement

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले विमानस्थललाई लक्षित गरेर भैरहवा, लुम्बिनीलगायत लुम्बिनी प्रदेशमै पर्यटन क्षेत्रमा नीजि क्षेत्रको ठूलो लगानी रहेकाले यसको संरक्षण तथा प्रतिफलका लागि पनि जतिसक्दो छिटो यस विमानस्थललाई पुर्ण क्षमतामा संचालनमा ल्याउन जरुरी भएको बताए ।

‘यस विमानस्थल हुँदै राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स तथा हिमालयन एयरलाइन्सबाट दिल्ली, थाइल्याण्ड, मलेसिया, कतार र दुबई पनि नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारले पहल गर्नुपर्छ’, सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा बुधवार साँझ भैरहवामा आयोजित छलफल कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले भने, ‘लुम्बिनीलाई गन्तब्य बनाएर चीन, भारत, थाइल्याण्ड, म्यानमार, भुटान, श्रीलंका, दक्षिण कोरिया, जापान लगायतका प्रमुख बौद्धिष्ट राष्ट्रहरुमा भैरहवाबाट नियमित हवाइ उडान संचालन गर्नेतर्फ प्रक्रिया बढाउन जरुरी छ ।’

छलफल कार्यक्रममा सहभागी रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा संचालन गर्ने तयारी र योजना सरकारको रहेको बताए । नेपाल एयरलाइन्स र अर्को हिमालयन एयरलाइन्सबाट पनि भैरहवाबाट उडान थाल्नेबारे कुरा अगाडि बढेको उनले जनाए ।

‘गौतम बुद्धलाई पूर्ण क्षमतामा संचालन गर्न भनेर नै यस विमानस्थलमा उडान संचालन गर्ने एयरलाइन्सलाई विभिन्न सुबिधा र छुट दिइएको हो’, मन्त्री श्रेष्ठले भने, ‘लुम्बिनीलाई एउटा गन्तब्य बनाएर धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्य यस विमानस्थलको हो र सरकार यसबारे गम्भीर पनि छ ।’

उनले गौतम विमानस्थलमा अब अन्तर्राष्ट्रिय उडान गर्ने विमानलार्इृ ग्राउण्ड ह्याण्डलिङमा पनि थप छुट दिइने जनाए । भैरहवामा हवाइ यात्रुको चाप बढ्दै जान थालेकाले गौतम बुद्ध विमानस्थलको घरेलु बिमानस्थललाई पनि थप व्यवस्थित बनाउने र दोस्रो टर्मिनल भवन बनाउने योजना रहेको उनले सुनाए ।

लुम्बिनी यात्राका लागि पर्यटकीय सुबिधाका सवै पूर्वाधार तयार भैसकेको र जिवनमा कम्तिमा एकपटक लुम्बिनी पुग्नै पर्छ भन्दै बढी बौद्ध धर्मावलम्बी रहेका मुलुकमा प्रचारात्मक कार्यक्रम गर्ने योजना सरकारको छ । नेपालमा पर्यटकको आगमन बढाउन विभिन्न देशमा रहेका नेपाली राजदुतहरुसँग छलफल गरि नेपालको पर्यटन क्षेत्रको प्रबद्र्धन गर्ने बिषयलाई प्राथमिकतामा राख्न लगाइएको मन्त्री श्रेष्ठले बताए ।

मन्त्री श्रेष्ठका अनुसार, बिदेशमा रहेका सबै नेपाली राजदुतावासमा पर्यटन क्षेत्र हेर्नका लागि अलग्गै एकजना फोकल पर्संन राखिने छ । सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष तथा होटेल व्यवसायी चन्द्रप्रकाश श्रेष्ठले दिल्लीबाट नेपाल आउने पर्यटक धेरै हुने भएकाले तत्कालै भैरहवा–दिल्लीबीच हवाइ उडान संचालनका लागि सरकारले तत्पराता देखाउनु पर्नेमा जोड दिए ।

नेपाल ट्राभल्स एण्ड टुर एशोसिएसन लुम्बिनी प्रदेशका संयोजक सागर अधिकारीले पनि नेपाल एयरलाइन्सको विमानबाट तत्कालै दिल्ली–भैरहवा उडान संचालन गर्न आग्रह गरे । ‘हामीसँग आफ्नै विमान पनि छ । यदि दिल्ली–भैरहवा उडान संचालन गर्ने हो भने हरेक उडान यात्रुले भरिन्छन्’, अधिकारीले दावी गर्दै भने, ‘यसका लागि सरकारले अग्रसरता लिनुपर्छ ।’ अर्का पर्यटन व्यवसायी तथा नेपाः ट्राभल्सका संचालक संजय बजिमयले विभिन्न अन्तर्राष्ट्रिय उडानसँगै भैरहवाबाट आन्तरिक क्षेत्रीय उडान संचालन गर्नु पर्ने बताए ।