भैरहवा भन्सारद्वारा एक खर्ब १५ अर्ब ८७ करोड राजस्व संकलन
भैरहवा- भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७८–०७९ मा १ खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार विभागले उक्त आवमा कार्यालयलाई एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार राजस्व संक्लन लक्ष्य तोकेको थियो । तर, राजश्व लक्ष्य भने भन्सारले भेट्टाउन सकेन ।
भन्सारले लक्ष्यको ९०.९४ प्रतिशत राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७–०७८ मा भने लक्ष्य भन्दा बढी राजस्व संकलन भएको थियो । यो आवमा ९९ अर्ब ६५ करोड राजस्व लक्ष्य तोकिएकोमा एक खर्ब १२ अर्ब ५४ करोड संकलन भएको थियो । जुन लक्ष्यभन्दा १२ प्रतिशतले बढी हो ।
नेपाल राष्ट्र बैंककोले गत पुस ५ गते बिलासिताका सामान आयात गर्दा शतप्रतिशत मार्जिन लिनुपर्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै प्रतित–पत्र (लेटर अफ क्रेडिट) जारी गरे पछि भारतबाट आयात हुने विलासिताका बस्तुहरु ह्वात्तै घटेका थिए । जसले गर्दा पनि यसपटक राजस्व लक्ष भेटाउन नसकिएको भन्सार कार्यालयका सूचना अधिकृत तीर्थराज पासवानले बताए ।
राष्ट्र बैंकको परिपत्रमा २० प्रकारका बस्तुहरु आयात गर्दा अनिवार्य रुपमा मार्जिन लिई प्रतितपत्रमार्फत् मात्र आयात गर्ने ब्यवस्था मिलाउन निर्देशन थियो । भारत लगायत तेस्रो मुलुकबाट बिलासिताका सामान बढी आयात भएको र बिदेशी मुद्रा सञ्चिति घट्दै गएकाले यस्तो ब्यवस्था गरिएको हो । ‘त्यसपछि भैरहवा भन्सार हुँदै आयात हुने सामाग्री घटेको हो भने राजस्व असुली समेत प्रभावित भएको हो’, पासवानले भने ।
भन्सार कार्यालयका अनुसार आब ०७८–०७९ मा सबैभन्दा बढी राजस्व जीप, कार र भ्यानबाट संकलन भएको छ । जीप, कार र भ्यानबाट २१ अर्ब ९३ करोड ६४ लाख ३३ हजार राजस्व संकलन भएको पासवानले बताए । यस्तै, मोटरसाइकलबाट १९ अर्ब, ९१ करोड, १५ लाख ९२ हजार, पिकअप तथा डेलिभरी भ्यानबाट ५ अर्ब ७४ करोड ८८ लाख ६० हजार, एम.एस. विलेटबाट ४ अर्ब ४० करोड ५ लाख ९३ हजार राजस्व संक्लन भएको छ ।
यस्तै, पेट्रोलबाट ४ अर्ब ६ करोड २५ लाख १४ हजार, ग्लेज टाइलबाट ३ अर्ब ४९ करोड ८ लाख ९४ हजार, हाइस्पीड डिजेलबाट २ अर्ब ७८ करोड १३ लाख १९ हजार, एलपी ग्यासबाट २ अर्ब ९ करोड ४५ लाख ७७ हजार, मार्बल स्याल्याबबाट एक अर्ब ९६ करोड ४२ लाख ८ हजार राजस्व संकलन भएको छ । यसैगरी मोबाइलबाट एक अर्ब ४१ करोड ८७ लाख ६४ हजार राजस्व संकलन भएको छ । बेलहिया नाका हुँदै गत आर्थिक वर्षम करिब १ सय ५० भन्दा बढी प्रकारका बस्तुहरु आयात भएको छ ।
प्रतिकृया दिनुहोस्