July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँच सुरु

सैनामैना– भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न रुपन्देहीको सैनामैना नगरपालिकामा जग्गा नापजाँच सुरु गरिएको छ ।

Advertisement

सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले नगरका सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने प्रतिवद्धता व्यक्त गरे । जनताको सुकुम्बासी समस्या समाधान गर्न संविधानतः सरकारले एक पटकका लागि सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने उनले बताए ।

Advertisement

उनकाअनुसार सैनामैना– १ बाट जग्गा नापजाँचको काम सुरुवात गरिएको हो । शर्माले भने, ‘हिजो कसले के गरे, के गरेन भन्दा पनि मैले आफ्नै कार्यकालमा लालपुर्जा आमनागरिक एवम् सर्वसाधारणको हातहातमा थमाउने कोसिस गर्छु ।’

भूमि आयोगले गर्ने सबै काममा आवश्यक पर्ने सहयोग र सहकार्यका लागि नगरपालिका तयार रहेको बताउँदै सबै राजनीतिक दल, जनप्रतिनिधिहरू, कर्मचारी र स्थानीय नागरिक, पत्रकारहरू सबैले भूमि समस्या समाधान गर्नका लागि भूमिका खेल्न नगर प्रमुख शर्माले आग्रह गरेका छन् ।

एक बित्ता वा एक हातका लागि आपसमा समाजमा नलड्नका लागि पनि उनले आग्रह गरे । जुन ठाउँमा झै–झगडा वा आपसी मेलमिलाप हुँदैन‚ त्यो ठाउँको जग्गा सैनामैनाको सबै जग्गा नापजाँच गरिसकेपछि आपसी मेलामिलाप भएमा मात्र अन्त्यमा नापजाँच गर्ने उनले बताए ।

राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले जग्गा नापी गर्ने क्रममा नापी टोलीलाई सहयोग गरिदिन आग्रह गरे । उनले जग्गा नापजाँच सकिएपछि पुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाइने जनाए ।