August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

‘चोरी तस्करी मौलायो, वैध कारोबारी समस्यामा’

भैरहवा– पछिल्लो समयमा कर छलेर हुने दुई नम्बरी कार्य मौलाउँदै जान थालेको र यसबाट कर तिरेर बैध कारोवार गर्ने व्यवसायी समस्यामा परेको गुनासो सम्बद्ध व्यवसायीले गरेका छन् । चोरीको मालसामान सस्तो मूल्यमा सिधै किन्न पाएपछि कर तिरेर कारोबार गर्ने व्यवसायीको मालसामान बिक्री हुन छाडेको दावी ती व्यवसायीको छ । अवैध कारोवार नियन्त्रणका लागि अनुगमन तथा कारवाही गर्ने सम्बद्ध निकायले चासो नदिएको आरोप व्यवसायीको छ ।

Advertisement

सिद्धार्थ उद्योग वाणिज्य संघ र राजश्व अनुसन्धान विभागले भैरहवामा आयोजना गरेको ‘राजश्व चुहावट नियन्त्रण सम्बन्धि नागरिक सचेतना अन्तरक्रिया कार्यक्रम’मा सहभागी अधिकांश व्यवसायीले पछिल्लो समय खुल्ला सिमाना हुँदै चोरी–तस्करी व्यापक रुपमा मौलाउन थालेको दावी गरे ।

Advertisement

‘सिमा क्षेत्रबाट दुई नम्बरीको कार्य मौलाउन थालेको छ’, सिद्धार्थ उद्योग वाणिज्य संघका बाणिज्य उपाध्यक्ष तथा व्यवसायी नेत्रप्रसाद आचार्यले भने, ‘कर तिरेर कारोबार गर्ने व्यवसायीको मालसामान बिक्री हुन छाडेको छ । किनभने, कर तिर्ने व्यवसायीबाट सामान किन्दा कारोवार देखिने र बढी कर तिर्नु पर्ने हुन्छ ।’

कर छलेर गरिने अवैध कारोबार बढ्न थालेपछि सरकारले लागु गरेको ढुवानी साधन तथा मालबस्तुको अनुगमन प्रणाली (भीसीटीएस) अनुरुप कारोबार गर्ने व्यवसायीको मालसामान बिक्री हुन छाडेको भनाइ आचार्यको थियो । भीसीटीएस प्रणाली अवलम्बन नगर्ने व्यवसायीमाथि के कारवाही हुन्छ ? दुई नम्बरी कारोबार गर्दा वा त्यस्तासँग बिना बिलबिजग कारोवार गर्दा के समस्या हुन्छ ? भन्ने वारेमा यस खालका जनचेतनामूलक कार्यक्रम शहर बजारमामात्र नभएर पहाडी जिल्लाका बजारमा पनि गर्न जरुरी भएको उनले बताए ।

‘बुटवलमा राजश्व अनुसन्धान कार्यालय छ तर अनुसन्धान र अनुगमन खाली भैरहवा र बुटवल क्षेत्रका व्यवसायीकोमात्र खातापाता हेरिन्छ’, उनले भने, ‘पहाडी जिल्लामा गइँदैन, त्यहाँका व्यवसायीको कारोवारको अनुगमन गरिँदैन । जसले गर्दा यतिबेला पहाडी जिल्लामा दुई नम्बरी काम मौलाएको छ ।’

सिद्धार्थ उद्योग वाणिज्य संघकै अर्का सदस्य तथा व्यवसायी धर्मबीर शर्माले पनि बेलहिया, मर्चवार र धकधई क्षेत्रबाट चोरीपैठारीको मालसामान व्यापक रुपमा भित्रिइरहेको बताए । ति क्षेत्रबाट चोरीपैठारीका माल सिधै गाडीबाट र बिना भीसीटीएस भित्रिने गरेको दावी उनले गरे । उनको भनाइ थियो, ‘फिल्डमा यस वारेमा कुनै अनुगमन गरिँदैन । जुन व्यवसायीले कानुनतः कारोबार गरेको छ, उसले दुःख पाइरहेको छ ।’

बुटवल उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले त खुल्ला सिमानाका कारण हुने चोरी तस्करी मौलाउँदै जान थालेपछि बरु कोभिडकै वेलामा जस्तो लकडाउन भैदिए हुने थियो भन्ने मनसायमा व्यवसायी पुगेको बताए । उनको भनाइमा कोभिडका कारण लकडाउन गरिदाँ आम उपभोक्ता सामान किनमेलका लागि सिमापारी सुनौली लगायतका भारतीय बजारमा पुग्दैनथे । नत, सिमानाका भरि सुरक्षाकर्मी तैनाथ गरिएकाले अन्य नाकाबाट नै चोरीका सामान भित्रिन्थ्यो । स्वदेशी बजारका गल्ली गल्लीका पसल पनि चलेका थिए । बैध कारोबारले प्रश्रय पाएको थियो ।

यही कुरालाई समर्थन गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजुले बिबाह र ब्रतबन्धको कार्डको नामबाट भन्सार अगाडिबाटै एउटै परिवारले लाखौंको सामान बिना भन्सार भित्राउने गरेको बताए । उनका अनुसार, बिबाह र ब्रतबन्धको कार्ड देखाउँदै सिजनको वेलामा टाढा–टाढादेखिका नेपाली उपभोक्ता दैनिक सयौंको संख्यामा सिमापारीको बजार पुग्ने गरेका छन् । ‘बिबाह र ब्रतबन्धको कार्ड बनाएर सामान भित्राउने काम व्यवसायिक हुँदै जान थालेको छ’, कसजुले भने, ‘बिना भन्सार सामान भित्राउनका लागि कतिपयले यस्ता कार्ड समेत नक्कली बनाउन थालेको पाइएको छ ।’

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुलप्रसाद न्यौपानेले कानुनको पालना गरेर सिस्टममा चल्ने व्यवसायीलाई झन् झन् कडाइ गर्दै जाने तर कानुनको पालना नगर्ने कारोवारीमाथि कुनै चासो नदेखाउने राज्यको प्रबृत्तिले पनि समस्या परेको बताए । सहभागी अधिकांश व्यवसायीले सवै व्यवसायीलाई समान ढंगबाट कर लागु गर्नु पर्ने, गलत गर्ने कारोवारी तथा व्यवसायीको पहिचान गरेर तत्काल कारवाही गर्नु पर्नेमा जोड दिएका थिए ।

सबै व्यवसायीको कुरा सुनिसकेपछि भन्सार बिभागका महानिर्देशक झलकराम अधिकारीले फरक–फरक ढंगबाट तस्करी भइ राजश्व चुहावट हुने गरेकोले यस वारेमा अनुसन्धान विभागको ध्यानाकर्षण भएको बताए । तस्करी तथा राजश्व चुहावट नियन्त्रणका लागि केन्द्रिय तहमा प्रहरी महानिरीक्षकसहित बैठक तथा छलफल भैरहेको उनले जनाए ।

‘राजश्व चुहावट क्षेत्रको र जोखिमको क्षेत्रको पनि पहिचान गरिसकेका छौं’, उनले भने, ‘एकातिर दर्ता भएका र करको दायरामा आउने गरेकाबाट विभिन्न च्यानल मिलाएर कर छल्ने काम हुने गरेको छ भने अर्कोतर्फ कतै दर्ता नै नभएका र करको दायरामैं नआउनेबाट हुने गरेको छ ।’ कर छली नियन्त्रणका लागि नीजि र नागरिक समाजसंग सहकार्य गरि संयुक्त नेटवर्कको बिकास गर्न जरुरी भएको उनले बताए ।

लुम्बिनी प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्माले सरकारले आफ्ना सेवा सरल र सहज रुपमा प्रदान गर्न सक्नु पर्ने र व्यवसायीमा पनि रातारात धनी बन्ने प्रवृत्ति हुन नहुने बताए । सरकारी क्षेत्रबाट नियमनको क्रम बढाउने र अन्य क्षेत्र पनि आफ्नो दायित्वप्रति जिम्मेवार हुनु पर्ने बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले ४० प्रतिशत कारोवार दर्ता नभएका तथा करको दायरामा नआएको अनौपचारिक क्षेत्रबाट हुने गरेको र औपचारिक क्षेत्रका कतिपयमा पनि कर कसरी छल्न सकिन्छ ? भन्ने रहेको बताए । ‘चोरी तस्करी नियन्त्रणका लागि खुल्ला सिमानामा अव सुरक्षा सतर्कता बढाइने छ’, उनले भने, ‘अनुगमन प्रकृयालाई प्रभावकारी बनाइने छ ।’

सरकारले जिल्लास्थित राजश्व चुहावट अनुगमन समितिको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था गरेको छ । राजश्व अनुसन्धान बिभागले भन्सार राजश्व, अन्तःशुल्क तथा आन्तरिक राजश्वतर्फ, हुण्डी लगायत बिदेशी बिनिमय अपचलन, आयकर लगायतका क्षेत्रमा बढी राजश्व चुहावट हुने जोखिमको क्षेत्र मानेको छ ।