December 5, 2024, Thursday
२०८१ मंसिर २०

१४ लाख बराबरको अवैध चिनी र कपडा बरामद

भैरहवा- प्रहरीले पश्चिम नवलपरासीबाट अवैध चिनी र कपडा बरामद गरेको छ । आइतबार बिहान नवलपरासीको बर्दघाट नगरपालिका–४ बाट प्रहरीले १४ लाख ११ हजार १ सय ४० मूल्य बराबरको अवैध चिनी तथा कपडा बरामद गरेको हो ।

तस्करी नियन्त्रणका लागि भन्दै लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालयको सक्रियतामा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको ना ६ ख २३८८ नम्बर को ट्रकलाई चेकजाँच गर्ने क्रममा अवैध चिनी फेला पारी बरामद गरेको हो ।

Advertisement

प्रहरीकाअनुसार उक्त ट्रकमा ४१८ वटा बोरामा २० हजार ८ सय ९४ केजी चिनी फेला परेकोले तत्काल ट्रकसहित नियन्त्रणमा लिइएको थियो । उक्त बरामद चिनीको अन्दाजी बजार मूल्य १२ लाख ५३ हजार ६ सय ४० रहेको प्रहरीको भनाई छ । बरामद चिनी र ट्रक आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाइने जनाइएको छ ।

यस्तै, सोही स्थानमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ७ख २०१५ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा विना विल ल्याउँदै गरेको अन्दाजी १ लाख ५७ हजार ५ सय मूल्य बराबरको जेन्स टिसर्ट, लेडिज टप्स लगायतका बिभिन्न कपडा फेला परेको थियो । उक्त कपडा प्रहरीले बरामद गरेको छ । कपडा भन्सार कार्यालय बुझाउने तयारी भइरहेको छ ।