मायादेवी मन्दिरका दानपत्रबाट २२ लाख ९७ हजार संकलन
लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा राखिएको दानपत्र खोलेर अहिले रकम गन्ने क्रम जारी छ । अहिलेसम्म खोलिएका दानपात्रबाट २२ लाख ९७ हजार रुपैयाँ संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताए ।
कोषाध्यक्ष भट्टराईको नेतृत्वमा यही आइतबारबाट दानपत्रको रकम गणना सुरु भएको थियो । ‘अहिले गणना जारी छ, हामीले व्यवस्थित गरेर गणना गरिरहेका छौं’, उनले भने । उनकाअनुसार रकम गणना गर्न सुरक्षा व्यवस्था राम्रो गराइएको छ । यहाँ ३० जना कर्मचारीले अहिले रकम गनिरहेका छन् ।
अघिल्लो पटक गत चैत १८ गते दानपत्र खोलिएको थियो । भेटी वापत उठ्ने रकमबाट करारका कर्मचारीहरुलाई तलब र अन्य व्यवस्थापनको काम गर्दै आएको विकास कोषले जनाएको छ ।
कोभिड महामारीपछि लुम्बिनीमा विदेशी पर्यटक निकै कम आएकाले लुम्बिनीमा यो पटक दानपेटिकामा भेटी कम उठेको कोषले जनाएको छ ।
प्रतिकृया दिनुहोस्