September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

झाडीको बीचमै वृक्षारोपण

भैरहवा– सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खानले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर प्रचार–प्रसार गरिरहँदा ‘ब्युटिफूल सहर’ बनाउने नारा दिएका थिए । उनी आफ्ना प्रत्येक कार्यक्रममा हराभरा र व्युटिफूल (सुन्दर) भैरहवाको कुरा गर्छन् । जसरी हुन्छ, व्यवस्थित र सुन्दर सहर निर्माण गर्ने आफ्नो लक्ष्य पूरा गरेरै छाड्ने उनको भनाई छ ।

Advertisement

धेरैले उनको नारा सापटी लिएर उनलाई ‘व्युटिफूल मेयर साब’ भन्न थालेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र मुलुककै ठूला मध्येको स्थल नाका रुहेको भैरहवालाई सुन्दर सहरमा रुपान्तरण गर्ने कुरा सुखद् हो । झन जनप्रतिनिधिले सुन्दर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएपछि सहरबासी खुसी हुनु स्वभाविक हो ।

सपथ ग्रहणकै दिन नगर प्रमुख खानले आफूले प्राप्त गरेको ९ हजार एक सय ३४ मत बराबर बृक्षारोपण गर्ने घोषणा गरेका थिए । उनले निर्वाचित भएको डेढ महिनापछि वृक्षारोपणको सुरुवात गरेका छन् । नगर प्रमुख खानले उक्त घोषणाको कार्यान्वयन सुरुवात स्वरुप सोमबार रुपन्देहीको बेलहिया नाकाबाट बृक्षारोपण गरेका हन् ।

उनले सुरुवात गरेको बृक्षारोपण आलोचना मुक्त हुन सकेन । नगरपालिका भित्रकै कर्मचारीले झाडी फडानी नगरेर बृक्षारोपण गरेको भन्दै उनको आलोचना गरेका छन् । पहिलो चरणमा निर्वाचनमा प्राप्त मत बराबर वृक्ष रोप्ने नगर प्रमुख खानले बताएका छन् । यस्तो कार्य गर्दा उनले सावधानी अपनाएको देखिएन ।

पहिल्यै झाडी रहेको स्थानमा बृक्ष रोपिएपछि तिनको संरक्षणको विषयलाई लिएर चिन्ता व्यक्त गरिएको हो । नगर क्षेत्रका सिद्धार्थ राजमार्ग, बैंक रोड, नारायणपथ, मिलन चोक, बेलहिया, देवकोटाचोक, बुद्धचोक लगायत स्थानमा वृक्षारोपण गरिने भएको छ । यी ठाउँमा यसअघि पनि लाखौं खर्चिएर वृक्षारोपण गरिएको थियो ।

ती विरुवाको संरक्षणमा खासै चासो दिइएको छैन । कतिपय ठाउँमा त सडकपेटीमाथि गमला राखेर वृक्षारोपण गरिएको छ । ‘यसले प्रदलयात्रुला ओहोरदोहोर गर्न कठिनाई त भएको छ नै, विरुवा हुर्किंदै जाँदा त्यसका जरा फैलन नपाउने अवस्था छ’, सिद्धार्थनगरकी स्थानीय अस्मिता केसीले भनिन्, ‘यो नगरपालिकाको लापरबाही हो ।’

सोमबार नगरपालिकाले यसअघि वृक्षारोपण गरिएकै ठाउँ बेलहिया–बुटवल व्यापारिक मार्गको सडक डिभाइडरमा पुनः वृक्षारोपण गरेको छ । पहिलाका विरुवा हुर्किन नपाउँदै मरेपछि पुनः वृक्षारोपण गरिएको हो । फेरि पनि झाडीभित्रै वृक्षारोपण गरिँदा विरुवा हुर्किनेमै शंका उत्पन्न भएको छ । झाँडीमा वृक्षारोपण गरेको भन्दै नगर प्रमुख खान र नगरपालिकाको सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ ।

नगर प्रमुख खानका अनुसार पहिलो चरणमा राजमार्गको बीच र दुबै किनारमा बिरुवा रोपिने छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीका अनुसार सोमबार वीरेन्द्र फूल, कपुर र राजवृक्षका ३ सय ५० बिरुवा रोपिएको हो । यसपछि अन्य प्रजातीका बिरुवा पनि रोपिने उनले बताए ।

झाडी भित्र वृक्षारोपण गरिएका बारे जिज्ञाशा राख्दा नगरपालिकाका योजना महाशाखा प्रमुख जीवन अर्यालले तत्काल झाडीमा रोपिएको जस्तो देखिए पनि दीर्घकालीन योजना बनाएरै काम गरिएको जनाए । उनले वृक्षारोपण गरिएका ठाउँमा घाँस तथा झाडी फडानी गरिने जनाए ।

‘कामदार लगाएर झाडी सफा गर्ने तयारी गरिरहेका छौं’, उनले भने, ‘सफा गर्ने मेसिन पनि खरिद गर्दैछौं केही दिनमै आइपुग्छ र काम थप व्यवस्थित हुन्छ ।’ नगरपालिकाले वृक्षारोपण गरेको अधिकांश ठाउँमा ठूलोठूलो घाँस र अन्य विरुवाको झाँडी छ । यसले वृक्षारोपण गरिएका विरुवा नै देखिँदैनन् ।