December 5, 2024, Thursday
२०८१ मंसिर २०

कपिलवस्तुको दोहनी सिंचाई योजना सञ्चालनमा

भैरहवा– कपिलवस्तुको दोहनी सिंचाइ योजना सञ्चालनमा आएपछि किसान खुसी छन् । जिल्लाकै जमुहार नालाबाट नहरमा पानी ल्याइएको हो । यसले कपिलवस्तु नगरपालिका– ७ र ८ स्थित ७ सय हेक्टरमा सिंचाइ सुविधा पुगेको छ । रोपाइँ गरेदेखि धान स्याहार्दासम्म सिचाइँ अभाव हुने गरेको थियो । अब १२ महिना नै सिंचाइ हुने भएपछि किसानले खुसी भएको बताएका छन् ।

धानपछि गहुँ, तोरी, आलस खेती हुने स्थानीयले बताए । सिंचाइ योजनाको पूर्व सिंचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यले उद्घाटन गरेका हुन् । ०७४ सालबाट निर्माण सुरु भएको योजनाका सबै काम सम्पन्न भएर सफल परीक्षणपछि शुभारम्भ गरिएको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुख पुरुषोत्तम उपाध्यायले बताए ।

७ करोड २० लाख ९६ हजार रुपैयाँ लागतमा बाबुल राजन जेभी निर्माण सेवा रूपन्देहीले योजना सम्पन्न गरेको हो । योजनाअन्तर्गत ४ दशमलव ४ किमि नहर निर्माण गरी कृषकलाई सिंचाइ सुविधा उपलब्ध गराइएको उनले बताए । कृष्णनगर–८ का वडाध्यक्ष शिवकुमार पाण्डेयले यस भेगका कृषकको वर्षाैंदेखिको सपना बल्ल पूरा भएको बताए । ‘सिंचाइ अभावले कृषक बर्सेनि समस्या भोग्दै आएका थिए,’ उनले भने, ‘योजना सञ्चालनपछि जीवनयापन सहज हुने विश्वास छ ।’