April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

भैरहवामा उपभोक्तामाथि खेलवाड गर्नेलाई ठाउँका ठाउँ कारबाही

भैरहवा– बजार अनुगमनका क्रममा उपभोक्ताको हीतविपरीत गुणस्तरहीन, म्याद गुज्रिएका सामान विक्रीवितरण गरेको र विलविजग समेत प्रयोग नगरेको पाइएपछि भैरहवाका ८ व्यवसायिक प्रतिष्ठानलाई कारबाही गरिएको छ । शुक्रबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, राष्ट्रिय उपभोक्ता मंच र नेपाल उपभोक्ता संरक्षण समितिले भैरहवामा संयुक्तरुपमा एक दर्जन बढी व्यवसायिक प्रतिष्ठानमा अनुगमन गरेको थियो ।

Advertisement

अनुगमनका क्रममा त्रुटी भेटिएपछि आठ व्यवसायिक प्रतिष्ठानलाई कारबाही गरिएको हो । अनुगमन टोलीकाअनुसरा पाँचर प्रतिष्ठानबाट सामान जफत गरिएको छ भने दुईवटालाई जरिवना र एउटाको सामान जफत गरी जरिवाना समेत गरिएको छ । १३ वटा प्रतिष्ठानमा अनुगमन गरिएकामा ५ वटालाई भने एकपटकका लागि सचेत गराइएको छ ।

Advertisement

बजार अनुगमनबाट म्याद गुज्रिएका ठूलो परिमाणमा घरमा लगाउने पेन्ट जफत गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले विभिन्न पसलमा अनुगमन गरेर उपभोक्ताले प्रयोग गर्न नमिल्ने म्याद गुज्रिएको एक लाख ५१ हजार चार सय ४७ रुपैयाँ बराबरको विभिन्न बस्तु जफत र तीन जनालाई ४० हजार रुपैयाँ जरिवाना कारवाही समेत गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाका अधिकृत एवं अनुगमन टोलीका निरीक्षक टेकराज भट्टराईले बताए ।

उनका अनुसार गौरीशंकर कलर हाउसले विक्री गर्नका लागि राखेको ५५ हजार एक सय रुपैयाँ बराबरको म्याद गुज्रिएको पेन्ट जफत गरी कारवाही गरिएको छ । त्यस्तै टोलीले प्रभु पेन्ट स्टोरबाट पनि ५५ हजार ६ सय रुपैयाँ र जगदम्बा पेन्ट्सबाट १९ हजार ८ सय १७ रुपैयाँ बराबरको म्याद गुज्रिएको पेन्ट बरामद गरी जफत गरेको छ ।

भट्टराईका अनुसार गणेश बेकरी उद्योगले विक्री गर्न राखेका वस्तुमा मरेका साङ्ला भेटिए पछि ४ हजार ६ सय रुपैयाँ बराबरको साम्रगी र एस.के प्लाई हार्डवेयरबाट ७ सय २० रुपैयाँ बराबरको म्याद गुज्रिएको फेबिकोल जफत गरिएको छ । यस्तै, न्यू बुद्ध टे«ड सप्लायर्सबाट १५ हजार ६ सय १० रुपैयाँ बराबरको उपभोक्ताले प्रयोग गर्न नमिल्ने पेन्ट बरामद गरी कारबाही स्वरुप २० हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, भैरहवाका नासु नारायण पन्थीले जनाए ।

‘यो सप्लायर्समा विक्री गर्ने वस्तुको मूल्यमा केरमेट गरिएको, वस्तुमा रिलेबलिङ गरेको लगायत गर्न नमिल्ने कार्य गरेको देखिएकाले वस्तु जफत गरी जरिवानास्वरुप कारवाही गरिएको हा’, उनले भने । उनका अनुसार बिल बिजक नरहेको बाबा जनरल स्टोर र लेडिज कपडाको विक्री गर्ने विवाह कल्केसनलाई दश–दश हजार रुपैयाँ जरिवाना तिराई कारवाही गरिएको छ ।

अनुगमनबाट जफत गरिएका सामाग्रीहरु नष्ट गरिने अनुगमन टोलीका निरीक्षक भट्टराईले बताए । पछिल्लो समय अनुगमन फितलो हुँदा व्यवसायीले उपभोक्तामाथि खेलवाड गर्दै आएका थिए । यसबारे उपभोक्ताहरुले नै पटकपटक आवाज उठाउँदै आएका थिए । त्यसपछि सरकारी निकायले अनुगमन सुरु गरेको हो । अब अनुगमनलाई निरन्तरता दिइने र उपभोक्तामाथि खेलवाड गर्नेलाई कानूनी दायरामा ल्याइने भट्टराईले बताए ।