December 10, 2024, Tuesday
२०८१ मंसिर २५

किसानलाई भारतबाट मल ल्याउन सहज बनाउँदै बाँके प्रशासन

बाँके- खेतबारीमा प्रयोग गर्न भारतबाट मल खरिद गरेर ल्याउने वास्तविक किसानलाई सहज वातावरण बनाउन बाँके प्रशासनले पहल गरेको छ । 

किसानलाई सुरक्षाकर्मीले बाधा पुर्‍याएपछि आफ्नो खेतबारीमा प्रयोग गर्न भारतबाट मल ल्याउने किसानलाई बाधा नपुर्‍याउन सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । 

Advertisement

उनका अनुसार व्यापारिक प्रयोजनका लागि हो या आफ्नो खेतबारीमा प्रयोग गर्नका लागि हो भन्ने एकिन गरी मल ल्याउन सहज वातावरण बनाउनु भन्ने निर्देशन दिइएको छ । रासायनिक मल नहुँदा किसानले धान रोप्न नसकेको गुनासो आएपछि किसानलाई भारतबाट मल ल्याउन केही खुकुलो गरिएको उनको भनाइ छ । भारतबाट मल ल्याउन प्रतिबन्ध रहेपनि व्यावहारिकता हेरेर यस्तो निर्णय गर्नुपरेको उनले बताए । 

बाँकेका किसानले नेपालगञ्ज, नरैनापुर, डुडुवाको होलिया, हिरमिनिया, खजुराको राधापुर र जानकी गाउँपालिकाको साईगाउँ लगायतका नाकाबाट रासायनिक मल ल्याउने गरेका छन् ।

यी नाकाबाट मल ल्याउँदा सुरक्षाकर्मीले दुःख दिने गरेको खजुरा गाउँपालिका–२ का अगुवा किसान गेहेन्द्र धितालले बताए। भारतबाट साइकल र मोटरसाइकलमा ल्याएको मल बाँकेको कोहलपुर, बैजनाथ र राप्ती सोनारी गाउँपालिकासम्म पुग्ने गरेको छ ।