सिद्धार्थनगरकाे बजेट १ अर्ब ३४ करोड


भैरहवा- आगामी आर्थिक वर्ष २०७९-८० का लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले १ अर्ब ३४ करोड ५४ लाख ३५ हजार बराबरकाे बजेट ल्याएकाे छ । नगर उपप्रमुख उमा अधिकारीले संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त अनुदान, राजस्व बाँडफाँट, समपूरक अनुदान, विशेष अनुदान, दातृ निकायबाट प्राप्त रकम, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम, आन्तरिक आयबाट समेतबाट गरि उक्त बराबरकाे बजेट ल्याइएकाे बताइन् ।
अधिकारीले बजेट तथा कार्यक्रमका मुख्य उद्देश्यहरु मानव विकासलाई केन्द्रमा राखी नगरको दैनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने, वातावरण संरक्षण र पूर्वाधार दीगोपना हुने गरी निर्माण गर्ने, विकासका संवाहकको समुचित परिचालनद्वारा आर्थिक विकास, सन्तुलित र समावेशी विकासमा टेवा पुर्याउने रहेको बताइन् । नगरपालिकाले बहुवर्षीय तथा क्रमागतमा रहेका योजनाहरुलाई सम्पन्न गर्ने र दिगो एवं वातावरणमैत्री हुने गरी आधारभूत शहरी पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकता दिने बताएको छ ।
यसैगरि आधारभूत स्वास्थ्य सुविधा, शैक्षिक विकास र समावेशी विकासमा टेवा पुर्याउने कार्यक्रम संचालन गरिनेछ । कृषि, पर्यटन, सहकारी जस्ता आर्थिक विकासका क्षेत्रमा जोड दिइ रोजगारी सिर्जना र आयआर्जन वृद्धिमा प्रत्यक्ष योगदान पु-याउने कार्यक्रम सञ्चालन गरिने अधिकारीले बताइन् ।
नगरको सौन्दर्यीकरण, सरसफाइ, वातावरणीय संरक्षण तथा पर्यावरणीय प्रवर्द्धन कार्यमा जोड दिइनेछ । संस्थागत विकास र सुशासन प्रवर्द्धनमा जोड दिई नागरिकमैत्री सेवा प्रवाह गरिने गरि बजेट बिनियोजन गरिएको अधिकारीको दावी छ । नगरपालिकाले जेष्ठ नागरिक आश्रय तथा मिलन केन्द्र स्थापना गर्न १० लाख र सडक मानवमुक्त नगर बनाउन ३ लाख बजेट बिनियोजन गरिएको छ । यस्तै छाडा चौपाया ब्यवस्थापन गर्न कान्जी हाउस निर्माणका लागि १ करोड बिनियोजन गरिएको छ ।
बोटानिकल गार्डेनको डिपिआर निर्माणको लागि २० लाख र निर्माणाधिन नगर पालिकाको लागि ५ करोड ८० लाख बिनियोजन गरिएको छ । यसै गरि नगर पालिकाले पशुपन्छी विकासतर्फ गाई भैसिको स्वच्छ दुध उत्पादन, चापाकटर वितरण, विभिन्न खोप सेवा, कृत्रिम गर्भाधानका लागि सामग्री तथा तरल नाइट्रोजन खरीद तथा ढुवानी, घाँसको बिउँ वितरण, नश्ल सुधारका लागि बोका वितरण, भकारो सुधार, गोठ सुधार, रोग नियन्त्रण तथा बाख्रापालन तालिम, माछाको भुरा तथा दाना वितरण, मिनरल तथा भिटामिन वितरण कार्यक्रम र कुकुर बन्ध्याकरणका लागि एकमुष्ठ रु. ४६ लाख ७५ हजार विनियोजन गरेको छ ।
नगरपालिकाले आजै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरम मेयर सामुहिक बिवाह कार्यक्रम गरि फजुल खर्च नियन्त्रण गर्ने जनाएको छ । नगर प्रमुख इश्तियाक अहमद खाले नगरपालिकाले बिकास निर्माण काममा साना टुक्रे योजनालाइ निरुत्साहित गरि ठूला र देखिने खालका योजना सन्चालन गर्ने नीति लिएको जनाए ।
नगरलाई क्लिन सिटि, ग्रीन सिटि र वातावरण मैत्रीको रुपमा विकास गरिनेछ। सिद्धार्थनगरलाई सधै हराभरा तथा वातावरणीय सन्तुलन राख्न नगर क्षेत्र भित्र रहेका सार्वजनिक स्थलहरुमा वृक्षारोपण कार्यक्रमलाई अभियानकै रुपमा संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।








प्रतिकृया दिनुहोस्