जनसरोकारका विषयलाई समट्दै संचारमैत्री बजेट ल्याउन सुझाव
भैरहवा– सिद्धार्थनगर नगरपालिकालाई यस क्षेत्रका पत्रकारहरुले संचारमैत्री बजेट ल्याउन सुझाव दिएका छन् । पत्रकारहरुले जनसरोकारका विषयलाई प्राथमिकता दिन पनि सुझाव दिएका छन् । आगामी आर्थिक वर्षको बजेटमा संचार क्षेत्रका कस्ता विषय समट्ने सकिन्छ ? भन्ने विषयमा बिहीबार नगरपालिकामा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा उनीहरुले यस्तो सुझाव दिएका हुन् ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेस केसीले आम नागरिकको सरोकारका विषयलाई प्राथमिकता दिँदै नगर भित्र रहेका मिडिया र पत्रकारहरुको बृद्धि–विकासमा ध्यान दिन आग्रह गरे । उनले नगरको आन्तरिक स्रोत निकै कम भएकाले स्रोत बृद्धि गरेर अघि बढ्न पनि सुझाव दिए । ‘नगरले प्रत्येक्ष नागरिकले सेवा पाउने कार्यक्रम ल्याओस्’, उनले भने ।
लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, सचिव शंकर पाण्डे, कोषाध्यक्ष प्रकाश न्यौपाने, निवर्तमान कोषाध्यक्ष दीपक घिमिरे, लेखा समिति संयोजक राधेश्याम विश्वकर्मा, तालिम समिति संयोजक दीपेन्द्र बडुवाल, पत्रकार मनोरंजन शर्मा, शशि पन्थी लगायतले बोल्दै नगरपालिकालाई संचारमैत्री नीति बनाएर अघि बढ्न सुझाव दिए ।
उनीहरुले पार्किङ व्यवस्थापन, फुटपाथ व्यवस्थापन, छाडा चौपाय व्यवस्थापन, पार्क निर्माण, अटो भिलेज व्यवस्थापनमा ध्यान दिन आग्रह गरे । यस्तै, उनीहरुले नगरमा पर्यटकीय गतिविधि बढाउनु पर्ने, हरियाल, सफासुग्गर नगर बनाउन पहल गर्नुपर्नेमा जोड दिए ।
नगर प्रमुख इस्तियाक अहमद खानले पत्रकारहरुको सुझावलाई मनन गर्दै अघि बढ्ने बताए । क्षमता अभिबृद्धि, स्थानीय मिडियाहरुको संरक्षण र उत्थानमा नगरपालिकाले सधै साथ दिने उनले जनाए । उनले नगरलाई सुन्दर बनाउँदै जनअपेक्षाअनुसार काम गर्न आफू सधै लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
खानले नगरको चौतर्फी विकास गर्न संचारजगतसँग सहकार्य गरेर अघि बढ्ने बताउँदै सधै सकारात्मक सहयोगका लागि पत्रकारहरुलाई आग्रह गरे । ‘नगरको समग्र विकासका लागि संचार क्षेत्रले साकारात्मक सहयोग गर्नेमा नगरपालिका विश्वस्त छ’, उनले भने । उनले आगामी बजेटमा संचार क्षेत्रबाट आएका अधिकतम सुझावहरु समेट्न प्रयास गर्ने बताए ।
प्रतिकृया दिनुहोस्