बाढीपीडितलाई आठ वर्षपछि घर


भैरहवा– आठ वर्षअघि बाढीले घर बगाएपछि खुला आकासमुनि पुगेकाले बल्ल घर पाएका छन् । पीडितहरुले पक्की घर पाएका हुन् ।
बर्दियाका गुलरिया नगरपालिका–४ स्थित रामपुरका ४२ परिवारलाई पक्कि घर हस्तान्तरण गरिएको हो । उनीहरु नयाँ घर पाएपछि दंग छन् । नयाँ घरमा बस्न पाएपछि स्थानीय शंकर शाहीको खुसीको सीमा थिएन । ‘ढिलै भए पनि ढुक्कको बास मिल्यो,’ उनले भने, ‘अब त बर्खामा निद पर्ला ।’ २०७१ सालमा आएको बाढीले घर बगाएपछि शाही लगायत स्थानीय अस्थायी शिविरमा बसोबास गर्दै आएका थिए ।
शनिवार बिहान उक्त बस्तीमा आयोजित कार्यक्रममा नगर प्रमुखले घर हस्तारण गरेका थिए । आठ वर्षअघि आएको बाढीले उक्त बस्ती नै बगाएको थियो । बाढी पसेपछि गाउँको निसान बाँकी थिएन । उक्त बाढीले स्थानीय गोविन्द खत्रीका आमाबुबा र छोरीका साथै एकै गाउँका ६ जनालाई बगाएको थियो ।
लामो समयपछि बस्तीमा गुलरिया नगरपालिका, कारितास नेपाल र स्थानीयको श्रमदानमा घर तयार भएका हुन् । नयाँ बनेका घरमा २ वटा कोठा, बरन्डा, भान्सा र शौचालय छन् । बाढी पीडितलाई नयाँ घर निर्माण गरेर हस्तान्तरण गर्दा खुसी लागेको गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बताए ।
बाढीले घर र खेतीयोग्य जमिनलाई बगरमा परिणत गरेको स्थानीय विमला विकले बताइन् । ‘पक्की घर पाउँदा खुसी लागेको छ,’ उनले भनिन्, ‘गरिबका दिन पनि आउँदा रहेछन् सरकारलाई धन्यवाद ।’








प्रतिकृया दिनुहोस्