April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

भारतमा काम गर्न जाने श्रमिकलाई समस्यै समस्या

भैरहवा– रोजगारीका लागि नेपालबाट भारतमा जाने श्रमिकहरु समस्यै समस्याको चपेटामा पर्ने गरेको राष्ट्रिय मानव अधिकार आयोगको अध्ययनले देखाएको छ । भारतमा मौसमी र अस्थायी तरिकाले काम गर्न जाने नेपालीहरुको संख्या दैनिक हजारौं छ । तर, यसरी जाने श्रमिक कतिको संख्यामा गए भन्नेबारे तीनै तहका सरकारसँग कुनै तथ्यांक छैन । उनीहरुको सुरक्षा, योग्यता, भोग्नु परेको पीडाबारे अहिलेसम्म कुनै खोज अनुन्धान पनि छैन ।

Advertisement

शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगले भैरहवामा आयोजना गरेको भारतमा श्रम गर्न जाने नेपाली श्रमिकहरुको मानव अधिकारको अवस्था विषयक अन्तरक्रियामा बोल्ने सहभागीहरुले कामका लागि भारत जान सहज भए पनि त्यहाँ नेपालीहरु कैयन् पीडा भोग्ने गरेको बताए । भारतमा श्रम गर्न जाने श्रमिकहरुको मानव अधिकार र उनीहरुको समस्या बुझ्ने उद्देश्यले राष्ट्रिय मानव अधिकार आयोगले अहिले विभिन्न प्रदेशका भारतसँग सीमा जोडिएका तराई र धेरै श्रमिक भारत जाने पहाडी जिल्लाहरु तथा सीमानाकाहरुको स्थलगत अनुगमन गर्ने, श्रमिकका आफन्त, स्थानीय तह, सरोकारवाला संघसंस्थासँग अन्तरक्रिया गर्ने र मजदुरी गरेर घर फर्कने नेपालीहरुलाई प्रत्येक्ष भेट गरी वास्तविक अवस्था बुझिरहेको छ ।

Advertisement

आयोगले अहिलेसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी जिल्लामा पुगेर श्रमिकका समस्याबारे बुझिसकेको छ । यस्तै, दार्चुला, गौरीफन्टा, गड्डाचौकी, जमुनाहा र लुम्बिनी प्रदेशको कृष्णनगर तथा बेलहिया नाकाको अनुगमन र घर फर्कने नेपालीहरुसँग भेट गरी समस्या बुझिसकेको आयोगको टोलीमा सहभागी त्रिभुवन विश्वविद्यालयका सोधकर्ता प्राध्यापक डा.गोविन्द सुवेदीले जानकारी दिए ।

राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरु । तस्बीर: पब्लिक कुरा

सुवेदीकाअनुसार आयोगको टोली पुगेको कतिपय वडाहरुबाट भारतमा श्रम गर्न जाने श्रमिकको संख्या ८० प्रतिशतसम्म रहेको पाइएको छ । खासगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा पर्ने वडाहरुमा यस्तो पाइएको हो । तराईका जिल्लामा भने सीमा क्षेत्रमा स्थानीय तहका नागरिक बढी मात्रामा रोजगारीका लागि भारत जाने गरेको पाइएको छ । ‘भारतमा श्रम गर्न जानेमा गरिब तथा विपन्न र दलित समुदायका नागरिक बढी रहेको पाइयो’, सुवेदीले भने, ‘खासगरी दुईथरि श्रमिक भारत जाने गरेको हाम्रो अध्ययनले देखाएको छ, एउटा नेपालमा खेतीपाती गरेर केही महिनाका लागि जाने र फर्कने मौसमी श्रमिक र अर्का दुईचार वर्षका लागि जाने अस्थायी छन् ।’

आयोगको अध्ययन अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पुरुषसँगै अत्यधिक मात्रामा महिला पनि कामका लागि भारत जाने गरेको पाइएको छ । यस्तै, तराईका जिल्लाबाट भने पुरुषको संख्या बढी छ भने महिलाहरु न्युन छन् । खासगरी नेपालबाट भारतमा श्रम गर्न जाने पुरुषहरुले चौकीदार, होटल, उद्योग, स्याउ टिप्ने, सडक, कवाडी कलेक्सन, ठूला र जोखिमयुक्त भवन निर्माण, ठेलागाढामा काम गर्ने गरेको पाइएको आयोगका उपसचिव हरि ज्ञवालीले बताए । ‘महिलाहरु भने धेरैजसो घरेलु कामदारका रुपमा जाने गरेको पाइएको छ’, ज्ञवालीले भने, ‘तर, घरेलु काममा जाने महिलाहरु बढी जोखिममा हुने गरेको हाम्रो अध्ययनका क्रममा पाएका छौं ।’

आयोगले अहिलेसम्म गरेको अध्ययनअनुसार भारतमा श्रम गर्न जाने नेपालीहरु अधिकांश कुनै न कुनै समस्याबाट पीडित हुने गरेको पाइएको छ । आयोगका उपसचिव ज्ञवालीका अनुसार भारत गएका श्रमिकहरुले काम गरेको ठाउँबाट पारिश्रमिक नपाउने, बेचविखनमा पर्ने, कुटपिट, श्रमशोषण, ठगिने जस्ता समस्यामा पर्ने गरेका छन् । ‘दुर्घटना पर्दा बीमा नभएका कारण उपचारमा समस्या, कानूनी तथा गैरन्यायिक समस्या झेल्नुपर्ने, बलात्कार, हत्या जस्ता समस्याबाट पनि नेपालीहरु पीडित भएको पाइएको छ’, उनले भने, ‘महिलाहरु बेचविखन र यौनहिंसा तथा बलात्कारमा बढी मात्रामा परेको हाम्रो अध्ययनका क्रममा पाएका छौं ।’

यस्तै, कतिपय नेपाली दशकौंसम्म घरपरिवारको सम्पर्कमा नआउँदा परिवार र आफन्तमा असैह्य पीडा थपिएको पनि अध्ययनका क्रममा गुनासा आएका छन् । ‘कति जना महिलालाई त आफन्तले नै लगेर भारतीय कोठीमा काम लगाएर यौन शोषण समेत गराएको गुनासो आएको छ’, प्राध्यापक डा. सुवेदीले भने, ‘पुरुषहरुलाई लुटपाट गर्ने श्रम गरेवापतको पारिश्रमिक पनि नदिएको हामीले पायौं ।’

श्रमिकहरु काम गर्ने स्थलमा मात्रै नभई घर फर्कंदा नेपाली तथा भारतीय सुरक्षाकर्मीबाट पनि पीडित हुने गरेको गुनासो गरेका छन् । ‘हामीले नाकाहरुमा पुगेर सयौं घर फर्कने नेपालीहरुसँग प्रत्येक्ष भिडियो रेकर्ड गरेर पनि कुराकानी गरेका छौं, त्यसक्रममा उहाँहरुले नेपालमै पनि ठगिएको, लुटिएको, ढाटछलमा परेको गुनासो गर्नुभएको छ’, उनले भने । कतिपय सीमा क्षेत्रका होटलहरु मानव बेचविखनमा पनि संलग्न भएको गुनासो आएको आयोगले जनाएको छ । यस्तै, ट्राभल एजेन्सीप्रति पनि गुनासाहरु धेरै आएका छन् । नाकामा भारत जाँदा र फर्कंदा यातायात व्यवसायीले चर्को भाडा लिने र ठग्ने गरेको गुनासो बढी आएको ज्ञवालीले बताए ।

लुम्बिनी प्रदेशका श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगामगरले विभिन्न क्षेत्रबाट पटकपटक आएका सल्लाह–सुझावहरु सरकारले कार्यान्वयन गर्न नसकेको बताइन् । उनले भारतमात्रै नभएर अन्य गन्तव्य मुलुकमा जाने श्रमिकहरुको अवस्थाको यथार्थ विवरण राख्न नसकेको जनाइन् । उनले श्रमिकका समस्या समाधानमा विशेष ध्यान दिनु पर्ने जनाउँदै नीति, नियम समय–समयमा परिमार्जन गर्न जरुरी रहेको बताइन् ।

अन्तरत्रियामा बोल्ने उद्योगी, व्यवसायी, विभिन्न एनजिओ–आइएनजिओका प्रमुख तथा प्रतिनिधिहरुले सीपयुक्त नहुँदा स्वदेशमै काम दिन समस्या भएको, ठगिने, लुटिने र मानव बेचविखनमा पर्नेहरुको उद्धार र सहयोगका लागि सधैं हातेमालो गर्ने जनाएका थिए । आधिकारिक तथ्यांक नभए पनि भारतमा २० लाख बढी नेपाली रोजगाररत रहेको बताइन्छ । यसरी रोजगारीमा जानेहरुमा जोखिमयुक्त क्षेत्रमा काम गर्ने बढी छन् । आयोगले सबै प्रदेशमा पुगेर सुझाव संकलन गरी भारतमा रोजगारीका लागि जाने श्रमिकहरुको वास्तविक समस्या, सुधार गर्नुपर्ने कुराहरु समेटेर प्रतिवेदन तयार पारी यस क्षेत्रमा काम गर्न र पहल गर्न सरकारलाई सुझव दिने जनाएको छ । यस्तै, आयोग आफैले पनि समस्या समाधानमा पहल गर्ने छ ।