लुम्बिनी प्रदेशमा ८६४,१६७ जनाले गरे स्वास्थ्य बीमा


भैरहवा– लुम्बिनी प्रदेशमा स्वास्थ्य बीमा गराउने नागरिकको संस्ख्यामा उल्लेख्य बृद्धि भएको छ । बीमा कार्यक्रम प्रभावकारी हुँदै जाँदा यसप्रति नागरिकको आकर्षण बढेको हो । विरामी हुँदा बीमा मार्फत् सहजै सुविधा पाउने भएकाले पनि नागरिक यसप्रति आकर्षित भएको बीमा बोर्डले जनाएको छ ।
स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेश कार्यालयका अनुसार हालसम्म प्रदेशभर ८ लाख ६४ हजार १६७ जनाले स्वास्थ्य बीमा गराएका छन् । यो निकै राम्रो तथ्यांक भएको बोर्डको दावी छ । ‘सेवासुविधा राम्रो पाएकाले होला नागरिक निकै खुशीका साथ बीमा कार्यक्रममा सहभागी हुनुभएको छ’, बोर्डका लुम्बिनी प्रदेश कार्यालय संयोजक मनोज पौड्यालले भने ।
स्वास्थ्य बीमा गराएका मध्ये ४ लाख ४९ हजार ७९९ महिलाले र ४ लाख १४ हजार २९१ जना पुरुष रहेको बोर्डले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रम प्रदेशका सबै जिल्लामा लागू छ । लुम्बिनी प्रदेशमा १२ जिल्ला छन् ।
कार्यलयमा जनशक्ति र व्यवस्थापन खर्चको अभावका हुँदा पनि नागरिकको बीमाप्रतिको मोह लोभलाग्दो रहेको बोर्डका संयोजक पौड्यालले जनाए । ‘यसले हामीलाई बीमा गराउन हौसला प्रदान गरेकोछ, सबै नागरिकलाई बीमा कार्यक्रममा ल्याउने हाम्रो योजना छ’, उनले भने ।
स्वास्थ्य बीमा कार्यक्रममा आफूहरु निरन्तर खटेको जनाउँदै पौड्यालले यसप्रति नागरिकको आकर्षण देख्दा उत्साहित भएको जनाए । स्वास्थ्य बीमा गराउनेमा प्रदेशका १२ वटा जिल्लामध्ये पाल्पाका नागरिक धेरै छन् । कतिपय ठाउँमा चेतनाको अभावका कारण बीमा कार्यक्रममा स्थानीय सहभागी भएका छैनन् । त्यस्ता नागरिकलाई सचेतनाका कार्यक्रम चलाएर बीमा कार्यक्रममा सहभागी गराउने बोर्डको योजना छ ।








प्रतिकृया दिनुहोस्