December 12, 2024, Thursday
२०८१ मंसिर २७

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम आज

भैरहवा– आज लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउँदै छ । बुधबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

आर्थिक मामिला तथा सहकारी मन्त्रालय स्रोतका अनुसार नीति तथा कार्यक्रममा सरकारले स्वास्थ्य, शिक्षा र कृषिलाई विशेष प्राथमिकता दिएको छ । यसअघि प्रदेश सरकारले जेठ २३ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरे पनि दुई दिन पर सारिएको थियो । नीति कार्यक्रमले निर्धारण गरेका प्राथमिकताका आधारमा बजेट ल्याउने तयारी पनि प्रदेश सरकारले गरेको छ ।

Advertisement

सरकारले प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रममा आगामी बजेटमा यसअघि अधुरा रहेका योजना सम्पन्न गर्ने गरी प्राथमिकतामा राखिने मन्त्रालयल स्रोतले जनाएको छ । प्रदेशको विकासका लागि भौतिक पूर्वाधार र पर्यटनलाई पनि प्राथमिकतामा राखिएको मन्त्रालयका एक अधिकृतले बताए ।

आगामी असार १ गते सार्वजनिक हुने बजेटका लागि प्रदेश सरकारले प्रि– बजेट छलफल कार्यक्रम पनि चलाइरहेको छ । अघिल्लो वर्ष स्वास्थ्यलाई प्राथमिकता दिएको लुम्बिनी प्रदेश सरकारले अहिले कृषिसँगै अन्य विषयलाई प्राथमिकता राखेर छलफल गरिरहेको आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बताए ।

आज बस्ने प्रदेश सभाको १०औँ अधिवेशनको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।