मायादेवीको हरनापुरमा पुल निर्माण, स्थानीय हर्षित


भैरहवा- रुपन्देहीको मायादेवी गाउँपालिका-३, हरनापुरमा फलामे पुल निर्माण गरिएको छ । बुधवार गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरी, वडा नम्बर ३ का वडाध्यक्ष मोहम्मद रफिक खाँ लगायतले संयुक्त रुपमा उक्त पुलको उद्घाटन गरेका छन् ।
गाउँपालिकाको वडा नम्बर ३ र ४ लाई जोड्न खडवा खोलामाथि उक्त पुल निर्माण गरिएको हो । खोलामा पुल नहुँदा स्थानीयहरु जोखिम मोलेर खोलामै पसेर आउजाउ गर्न बाध्य थिए । तर, बुधवार फलामे (ट्रस्ट) पुलको उद्घाटन भएपछि स्थानीयहरु हर्षित छन् ।
‘पुल नहुँदा आउजाउ गर्न साह्रै समस्या थियो, जान परे पनि खोलामा पसेर जानुपर्ने नभए घुमाउँरो बाटो हुँदै जानुपर्थो’, मायादेवी गापा- ३ का गोरख हरिजनले भने, ‘तर, अब पुल बन्यो । यो हाम्रो लागि धेरै खुशी क्षण हो ।’
गापाको वडा नम्बर ३ र लुम्बिनी प्रदेशको साढे २९ लाख संयुक्त लगानीमा पुल निर्माण भएको हो । ‘पुल नहुँदा नागरिकहरुलाई धेरै समस्या थियो, वर्षायाममा खोलामा बाढी आउँदा विधार्थी, मजदुर लगायतहरु झनै बढी प्रभावित हुन्थे’, वडाध्यक्ष रफिकले भने, `विधार्थीहरु विधालय समेत जान नसक्ने अवस्था थियो तर अब उक्त समस्या हटाएका छौँ, मजदुर, विधार्थी लगायत सम्पूर्ण नागरिक अब ढुक्कसँग पुल मार्फत ओहरदोहर गर्न सक्छन् ।’








प्रतिकृया दिनुहोस्