March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

अवैध काठ तस्करी बढ्यो

भैरहवा– शुक्रबार सशस्त्र प्रहरी बल नेपालले बर्दियाको मधुवन नगरपालिका–९, धर्मबस्ती र गंगाबस्ती ईलाकाबाट बेबारिसे अवस्थामा लुकाइछिपाई राखेको ठूलो परिमाणमा सालका गोलिया काठ बरामद गर्यो ।

Advertisement

करिब १ सय ५० क्यूफिट सालको काठ बरामद गरेको सशस्त्र प्रहरी निरीक्ष टीकाराम मैनालीले बताए । अवैध काठ भारतबाट भित्राएको अनुमान गरिएको उनले जनाए । सोही दिन नेपाल प्रहरीले गुलरिया–१० स्थित भारतबाट लुकाई छिपाई ल्याएको अवैध सागुन जातका २५ क्युफिट काठ बरामद गरेको थियो । स्थानीय सःमिलमा काठ लैजान लागेको अवस्थामा पक्राउ गरिएको हो ।

Advertisement

निर्वाचनका समय सीमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी चुनावमा खटिएपछि ठुलो परिमाणको अवैद्य काठ भित्रिएको आशंका वनका कर्मचारीको छ । ती काठलाई वैधता दिन तस्कर लागिरहेका छन् । डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं सहायक वन अधिकृत द्रोण शर्माले अवैध काठलाई वैधता दिन नमिल्ने बताए । उनले यस्ता काठ भेटाए जफत गरि कानुनी कारवाही गरिने जनाए ।

अवैध काठ स्थानीय सःमिलमा चिरान गराई वैधता दिने गरेका सञ्चालक सक्रिय भएका छन् । भारतबाट काठ भित्रन लागेको सूचनाका आधारमा प्रहरीले रातभर गस्ती गर्न थालेको छ । सीमा क्षेत्रमा रहेका सःमिल र काठ तस्करले रातको मौका छोपेर काठ भित्राउने गरेको सशस्त्र बलले जनाएको छ । सःमिलका एक सञ्चालकका अनुसार भारतीय वनका कर्मचारीसँग मिलेर काठ भित्राउने गरेको बताए । भारतीय वनका मुन्सी र कर्मचारीसंग नमिलेर काठ भित्रिन नसक्ने उनले जनाए ।

सीमासँग जोडिएको भारत बहराइच जिल्ला अन्तर्गत कतरनिया वन्यजन्तु आरक्ष पर्दछ । वन रक्षाका लागि खटिएका मुन्सीबाटै रुख कटाउन लगाउने र सो वापत उसले मोटो रकम लिने गरेको स्रोतको भनाई छ । रुख राती काटिन्छ, सीमामा तैनाथ एसएसबीको राती वन गस्ती नगरेको मौका छोपी अवैध धन्दामा मुन्सिले सहयोग गर्ने गरेको स्थानीयको भनाई छ । भारतीय वनका अधिकारीले अवैधरुपमा रुख काट्न लगाउने जो सुकै भए पनि कडा कारवाही हुने जनाए । रुख काटेको जानकारी हुने भन्दै जरा समेत उखालेर माटोले पुर्ने गरेका कारण्न वनका उपल्लो कर्मचारीलाई भने जानकारी हुँदैन ।

सःमिलमा चिरान गरेका काठलाई अवैधरुपमा बिक्री गर्ने गरेका छन् । सःमिलका सञ्चालक कयौं पटक डिभिजन वनका कर्मचारीले पक्राउ गरि कारवाही गरिसकेको छ । यो धन्दा यस अघि जमुनीमा हुने गरेको थियो । अहिले पछिल्लो पटक मधुवन नपा क्षेत्रमा हुने गरेको छ ।
फोटोः फाइल