December 5, 2024, Thursday
२०८१ मंसिर २०

भ्रष्टाचारमुक्त पालिका बनाउने प्रतिबद्धता

बर्दिया– स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले पालिकालाई भ्रष्टाचार मुक्त बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । बासगढी नगरपालिकाले सुशासन अन्तर्गत भ्रष्टाचारमुक्त बनाउने पहिलो प्राथमिकतामा राखेको छ । बासगढीमा प्रमुख खड्गबहादुर खड्काले कार्यपालिकाको पहिलो बैठक बस्नसाथ पहिलो निर्णय गर्ने बताए ।

उनले स्वास्थ्य, शिक्षा र कृषिलाई पनि पहिलो प्राथमिकतामा राखि काम गर्ने जनाए । बढैयाताल गाउँपालिकाले भने पहिलो बैठकमा बढैयाताललाई पर्यटनको विकासका लागि पूर्वधार गुरुयोजना अघि सार्ने भएको छ । यस ताललाई पाँच वर्ष भित्र नमुना पर्यटकीय स्थल बनाउने पहिलो निर्णय गरेको अध्यक्ष हिमालयन त्रिपाठीले बताए । वन्यजन्तुबाट अक्रान्त गेरुवा गाउँपालिकाको बैठक बसेको छैन ।

Advertisement

पालिका अध्यक्ष जमान सिंह केसीले पहिलो प्राथमिकतामा बर्दिया निकुञ्ज जोडिएको पूर्वी सीमानामा वन्य जन्तु बाहिर नआउन भन्दै पाच वर्ष भित्र करिब ५० किमी क्षेत्रमा बलियो तारवार लगाउने निर्णय हुने बताए । ठाकुरबाबा नपाका प्रमुख तिलक राम लम्सालले आफूले पाउने तलव भत्ता गरिब दुखीका लागि सहयोग गर्ने बताएका छन् । पहिलो निर्णयमा सामाजिक सुरक्षा, भत्ता समय भित्र घर–घर पुराउने उनले जनाए ।

गुलरिया नगरपालिकाले पहिलो प्राथमिकतामा सुकुम्बासी समस्या समाधान, शिक्षा, स्वास्थ्यमा बढी लगानी गर्ने भएको छ । कार्यपालिकाले पूर्णता पाउनासाथ उक्त प्रतिबद्धता बाहेक सडक सञ्जाल नजोडेको गाउँमा पक्की बाटो बनाउने प्रमुख मुक्तिनाथ यादवले बताए । जिल्लाको आठ पालिका अन्तर्गत अधिकांशमा कार्यपालिकाले पूर्णता नपाएकोले निर्णय हुन सकेको छैन ।

मधुवन नपाका प्रमुख तेजबहादुर भाटले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखि निर्णय गर्ने बताए । राजापुर नगरपालिकाको पहिलो बैठकले विभिन्न राजनैतिक दलको कार्यकारणी पदमा रहेका शिक्षा र कर्मचारीलाई सात दिन भित्र राजिनामा दिन निर्देशन जारी गरेको छ । विद्यालयको पठन पाठनमा प्रभावित हुने गरि आचरण विपरित काम गर्ने शिक्षा र कर्मचारीले राजनैतिक दलको विभिन्न पद नछाडे कारवाही गरिने नगर प्रमुख दिपेश चौधरीले बताए ।