May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

बुटवलमा एमालेका मेयर उम्मेदवारमाथि पैसा बाँडेको आरोप

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमतीलाई स्थानीयले केहीबेर नियन्त्रणमा राखेका छन् । मौन अवधिमा मतदाता प्रभावित पार्ने कार्यमा संलग्न भएको आरोपमा भट्टराईकी श्रीमती माया भट्टराईलाई नियन्त्रणमा राखेका हुन् ।

Advertisement

भट्टराई सुकुम्बासी बस्तीमा मतदाता प्रभावित गर्न पुगेको भन्दै स्थानीयले नियन्त्रणमा लिएका हुन् । दिउँसो २ बजेतिर बुटवल वडा नम्बर ११ मझुवा टोलको सुकुम्बासी वस्तीमा पैसा बाँड्न आएको सूचना थाहा पाएपछि स्थानीयले भट्टराईलाई कब्जा गरेको स्थानीयको दावी छ ।

सुकुम्बासी बस्तीको सिर्जना भुसालको घरमा थुनेर राखिएकामा भट्टराईलाई सशस्त्र र जनपथ प्रहरीले उद्धार गरि इलाका प्रहरी कार्यालय बुटवलमा लगेका छन् । मेयर पदको उम्मेदवारकी श्रीमती मौन अवधीमा सुकुम्बासी बस्तीमा शंकास्पद अवस्थामा भेटिएको प्रहरीले पुष्टि गरेको छ ।

मौन अवधिमा मत माग्न र मतदाता प्रभावित पार्न पाइँदैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले घटनाबारे विस्तृत विवरण नआएको बताए ।