May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

गौतमबुद्ध विमानस्थल : जेठ २ देखि नियमित उडान

भैरहवा- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अब नेपालका दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनेछ।

Advertisement

काठमाडौंपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी विमान अवतरण भएसँगै यसलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको डेमोस्ट्रेसन फ्लाइट नाम दिइएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलमा भएको वाइडबडीको पहिलो उडानमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसहित २६० जना लिएर नेवानिको वाइडबडी जहाजले बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको थियो।

यो उडानको सफल अवतरणसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विमानस्थल योग्य भएको प्रमाणित भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बिहीबार नेपालको इतिहासमा पहिलो पटक काठमाडौँबाहेक अन्य कुनै भूमिमा वाइडबडी जहाज अवतरण गरेको पहिलो घटना भएको बताए।

विमानस्थलमा वाइडबडी जहाजले आफ्नो पहिलो उडान भरे पनि नियमित रूपमा भने जेठ २ गते बुद्ध जयन्तीबाट उडान सुरु हुनेछ।

पहिलो अन्तर्राष्ट्रिय उडान जजिरा एयरले गर्ने प्राधिकरणले बताएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक जाम भएको खण्डमा भने अहिले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सक्ने महानिर्देशक ज्ञवालीले बताए।

भैरहवा विमानस्थलमा ४ जुलाई सन् १९५८ देखि आन्तरिक उडान हुन थालेको हो। अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा दोस्रो विमानस्थल सञ्चालन हुनु हवाई उड्डयनको इतिहासमा नयाँ फड्को भएको निर्देशक अधिकारीले बताए।

अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएसँगै विमानस्थल २४ घण्टा सञ्चालनमा आउने उनले बताए। कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक जाम कम हुने प्राधिकरणको विश्वास लिएको छ।