March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नयाँ वर्षमा गन्तव्य भरिभराउ

लुम्बिनी– नयाँ वर्षको पहिलो दिन रुपन्देही र आसपासका पर्यटकीय गन्तव्य आगन्तुकले भरिभराउ छन् । यहाँका धार्मिकदेखि पर्या–पटकीय क्षेत्रमा सर्वसाधरणको ओइरो लागेको छ । लामो अवधि कोरोना भाइरस महामारीले घर बाहिर निस्कन नपाएका सर्वसाधरण यसपाली परिवारसहित घुमफिर र पूजापाठमा पुगेका छन् ।

Advertisement

‘लामो समयपछि खुलेर घुम्न पाइयो,’ रुपन्देहीको वनवाटिका घुम्न आएकी बुटवलकी अस्मिता गौतमले भनिन्, ‘आज त पाइला टेक्ने ठाउँ छैन ।’ बिहीबार दिउँसो वनवाटिका भरि सर्वसाधरणको धुइरो लागेको थियो । बालबालिकादेखि बृद्धसम्म घुम्न आएका थिए । सार्वजनिक बिदाका दिन पाहुनाको भीड लाग्छ । नयाँ वर्षका दिन पार्कमा अन्य दिनभन्दा दोब्बर सर्वसाधरण घुम्न आएको वनवाटिका व्यवस्थापनले जनाएको छ ।

Advertisement

वर्षको पहिलो दिन भएकाले रुपन्देही र पाल्पाको सीमा क्षेत्रस्थित सिद्धबाबा धाममा दिनभरि श्रदालुको घुइँचो थियो । बिहानैदेखि माथिल्लो र तल्लो सिद्धबाबामा पूजाआजाका लागि सर्वसाधरण पुगेका थिए । रुपन्देहीमा रहेको धाममा भन्दा पाल्पास्थित मन्दिरमा सर्वसाधरणको ओइरो देखिन्थ्यो । श्रद्धालुको चाप व्यवस्थापन गर्न प्रहरी तैनाथ गरिएको थियो ।

मन्दिरको प्रवेशद्वारबाट ५ सय मिटर उत्तरसम्म श्रदालु लाम लागेका थिए । बिहान सडकको एक किनारामा मात्र रहेको लामा दिउँसो दुबैतर्फ फैलिएको थियो । जसले गर्दा सिद्धार्थ राजमार्ग हुँदै ओहोरदोहोर गर्ने गाडीको जाम लागेको थियो । पाल्पास्थित धाममा पूजा सकेर सर्वसाधरण रुपन्देहीमा रहेको तल्लो सिद्धबाबामा आउने गरेका थिए ।

बिहान खुला रहेको तल्लो सिद्धबाबा क्षेत्रमा मध्यान्ह भीडभाड भएको थियो । त्यहाँ पूजाआजाका लागि रुपन्देही र आसपासका जिल्लाबाट सर्वसाधरण आएका थिए । प्रदेशकै मुख्य पर्यटकीय केन्द्र लुम्बिनीमा बिहीबार मेला लागेको थियो । लुम्बिनीको प्रमुख मन्दिर र बिहारमा खुट्टा टेक्न मुस्किल परेको थियो । मुख्य क्षेत्रभन्दा बाहिर समेत सर्वसाधरणको लर्को देखिन्थ्यो ।

धेरै सर्वसाधरण खुला स्थानमा सवारीका साधन पार्किङ गरेर मायादेवी मन्दिर गइरहेका थिए । जसले गर्दा मन्दिर अगाडिबाट शान्ति दीपसम्म सर्वसाधरणबीच ठेलमठेल थियो । बालबालिकादेखि बृद्धसम्म चर्को गर्मीको बेवास्ता गर्दै ओहोरदोहोर गरिरहेका थिए । लुम्बिनीको मुख्य नहरमा डुंगा बिहार गर्ने भीड थियो । सर्वसाधरण नहरको दायाँबायाँबाट यात्रा गरिरहेका थिए ।

‘छोटो अवधिका लागि भए पनि पूरै लम्बिनी भरिभराउ छ,’ स्थानीय पर्यटन व्यवसायी किरणचन्द्र पौडेलले भने, ‘कोरोना कहरपछि आजै सर्वसाधरणको यस्तो भीड देखियो ।’ प्रमुख गन्तव्य बाहेक बुटवलको हिल पार्क र फुलबारीमा समेत यस्तो घुइँचो देखिन्थ्यो । बुटवलको हिलपार्कमा सांस्कृतिक महोत्सव सञ्चालन गरिएकाले सर्वसाधरण रमाएका थिए ।

यसरी घुमफिर गर्नेमा धेरै युवा देखिन्थे । यी गन्तव्य बाहेक जिल्लाका होटल तथा रेष्टुराँमा रमाउनेको संख्या उस्तै रहेको थियो । केही ठूला होटलले बुधबार साँझबाट सांगितिक कार्यक्रमलाई निरन्तरता दिएका छन् । ख्याती प्राप्त कलाकार बोलाएर अयोजना गरिएका यस्ता कार्यक्रममा खान पिन गर्दै रमाइलो गर्नेको संख्या धेरै देखिन्थ्यो ।

सर्वसाधरणको संख्याबाट उत्साहित पर्यटन व्यवसायीले आगामी दिनमा कोरोना लगायत विपतको सामना गर्नु नपरोस् भनेर कामना गरेका छन् । यसरी घुमफिर गर्नेको संख्या बढ्दै गएमा पर्यटन क्षेत्र फस्टाउने उनीहरुको भनाई छ ।