अर्थतन्त्र कमजोर बनेकामा उद्योगी–ब्यवसायी चिन्तित
तिलोत्तमा– यहाँका उद्योगी–व्यवसायीले मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ओरालो लागेको देशको अर्थतन्त्र सुधारका लागि सरकारले बेलैमा सम्बन्धित सबै पक्षसँग छलफल गरेर समाधान खोज्नु पर्नेमा उनीहरुको जोड छ ।
तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीले आइतबार आयोजना गरेको २०७९ सालको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रममा बोल्ने उद्योगी ब्यवसायीले ओरालो लागेको देशको अर्थतन्त्र सुधारका लागि सरकार तथा दलका नेताहरुले कुनै चासो र चिन्ता ब्यक्त नगरेको भन्दै चिन्ता ब्यक्त गरे ।
संघका सल्लाहाकार पशुपति घिमिरेले भएका उद्योग धन्दा राम्रोसंग सञ्चालन गर्न सक्ने वातावरण नरहेको जनाए । ‘सरकारले दिने अनुदानमा ब्यापक दुरुपयोग र भ्रष्टाचार भएको छ’, उनले भने, ‘सरकारले दिने अनुदान उत्पादनशिल क्षेत्रमा केन्द्रित गर्नुपर्ने हुन्छ । मुलुकलाई आत्मनिर्भर बनाउन र आयात प्रतिस्थापन गर्न उत्पादन क्षेत्रमा सामूहिक लगानी गर्नुपर्ने आवश्यक्ता छ ।’
अर्का सल्लाहाकार चन्द्रमान श्रेष्ठले सरकारले निर्यातमूलक उद्योग सञ्चालनका लागि स्थापना गरेको सेजमा उद्योगमैत्री वातावरण नभएका कारण उद्योग सञ्चालन गरिरहेका उद्योगीहरु कतिवेला उद्योग बन्द गरेर निस्किने भन्ने अवस्थामा रहेको बताए । ‘कतिपय मानिसलाई पैसा भए जे पनि गर्न सकिन्छ भन्ने लागे पनि मुलुकको पछिल्लो अवस्थाले गर्दा पैसा भएर केही गर्न नसकिने अवस्था छ’, उनले भने, ‘हामी आयात मुखी छौं, आयातबाट भन्सार लगाएर आएको सामानवाट आम्दानी गर्ने अर्थतन्त्रको ब्यवस्था भएकाले जति लगानी गरे पनि लगानी अनुसारको उत्पादन गर्न सकिने वातावरण छैन ।’
उनले सरकारलाई पैसा बुझाउन जाँदा अनावशयक झण्झट ब्यहोर्नुपर्ने र कर्मचारी र दलालहरुलाई पैसा खुवाउनु पर्ने प्रबृत्तिको अन्त्य नभएसम्म मुलुकको आर्थिक अवस्था सुधार नहुने जिकिर गरे । सल्लाहाकार नवराज श्रेष्ठले कोरोनाले लामो समयसम्म बन्द रहेका हरेक क्षेत्र राम्रोसँग तग्रिन नपाएको अवस्थामा बैंकिङ क्षेत्रले तरलताको अभावमा महिनौदेखि कर्जा प्रवाह गर्न नसक्दा बन्द रहेको व्यापार व्यवसाय पुनः सञ्चालन गर्नका लागि उद्योगी व्यवसायीहरुलाई पुंजी जुटाउन समस्या भैरहेको बताए ।
उनले खराब सरकारी नीतिका कारण देसको व्यापार घाटा अझै बढ्ने अवस्थामा पुगेको र देसभित्र उत्पादित वस्तुको समेत निर्वाध रुपमा आयात हुन दिँदा मुलुक नै आयात गरेर निर्वाह गर्ने अबस्थामा पुगेको उल्लेख गरे । संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव)ले एकोहोरो आयातले देसको व्यापार घाटा भयावह अबस्थामा पुगेकाले सरकारले तत्काल आयात नीतिमा परिवर्तन गर्दै आन्तरिक रुपमा उत्पादन हुन सक्ने वस्तु तथा सेवामा उच्च भन्सार दर कायम गरि देसभित्र उत्पादन बढाउन जोड दिनुपर्ने माग गरे ।
कार्यक्रममा संघका उपाध्यक्ष हरिलाल पाण्डे, कृष्णप्रसाद शर्मा, महासचिव कमल कँडेल, कोषाध्यक्ष सुरज पंगेनी लगायतले बोल्दै मुलुकको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको र निर्यातको कमजोर आधार र उच्च आयातका कारण व्यापार घाटा फराकिलो हुँदै गएको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस्