सेजमा आवेदन दिएका उद्योगको छनोट आगामी हप्ता
भैरहवा– भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापनाका लागि आवेदन दिएका उद्योगको छनोट बैशाखको पहिलो हप्ताभित्रै हुने भएको छ । सेजमा कुल ६८ वटा प्लट छन् । जसमध्ये २२ वटा प्लटमा केही उद्योगहरु संचालनमा छन् ।
एउटा प्लट विद्युत सबस्टेशनका लागि हो भने अन्य ४५ वटा खाली रहेका प्लटमा उद्योग स्थापनाका लागि सेज विकास प्राधिकरणले प्रस्ताव आह्वान गरेको थियो । प्रस्ताव आह्वान पश्चात् २३ वटा उद्योग संचालनका लागि उद्योगीले आवेदन दिएको सेज प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिए ।
आवेदन परेका उद्योगहरुमध्येबाट आगामी हप्ता भित्र उद्योगहरु छनोट गरिने भट्टले बताए । ‘यहाँ उद्योग स्थापनाका लागि आंकलन भन्दा बढी आवेदन परेको छ’, उनले भने, ‘त्यसैले आवश्यकताका आधारमा हामीले छिट्टै छनोट गर्नेछौं ।’ लगानी, रोजगारी र निर्यातको आधारमा आवदेन दिएका उद्योगहरु मध्ये छनोट गरिने उनले बताए ।
२३ वटा उद्योगले करिब ७ अर्ब बराबरको लगानी गर्ने प्रस्तावसहित आवेदन दिएको प्राधिकरणले बताएको छ । हाल भैरहवा सेजमा ६ वटा उद्योग संचालनमा छन् भने एउटा संचालनको तयारीमा छ ।
सेजमा उद्योग स्थापनका लागि रंग, स्टिल, प्लाष्टिक उद्योगहरुले प्रस्ताव दिएका छन् । निर्यातलाई बढाई व्यापार घाटा कम गर्ने उद्देश्यका साथ संचालनमा ल्याइएको भैरहवा सेज मुलुककै पहिलो हो ।
उनले आँकलन भन्दा बढी आवेदन पर्नु उद्योगी व्यवसायीको सेजप्रति आकर्षण देखिएको दावी गरे । सेजमा उद्योग संचालनमा आउँदा व्यापार घाटा न्युनिकरणमा सहयोग पुग्नुका साथै विदेशी मुद्रा संचितीकरणमा समेत टेवा पुग्ने जनाए ।
‘प्लटको भाडादर, निर्यात लगायत विषयमा हामीले उद्योगी व्यवसायीसँग छलफल गरेका थियौँ’ उनले भने, ‘सोही छलफलको परिणाम स्वरुप सेजमा उद्योग स्थापनाका लागि उद्योगी व्यवसायीको आकर्षण देखिएको हो ।’
संचालनमा आए पनि विगतमा विभिन्न विषयमा असन्तुष्टि जनाउँदै उद्योगी व्यवसायीहरुको सेजप्रति आकर्षण हुन सकेको थिएनन् । पछिल्लो समयमा सेजले उद्योग स्थापनका लागि आह्वान गरेको प्रस्तावमा भने उद्योगी व्यवसायीको आकर्षण बढेको देखिएको छ ।
उद्योग स्थापनका लागि उद्योगी व्यवसायी असन्तुष्ट रहेको विषयमा सरकार लचिलो हुने भएपछि आंकलन भन्दा बढी आवेदन परेको सेज प्राधिकरणका कार्यकारी निर्देशक भट्टले बताए । यसअघि सम्झौता गरेर पनि उद्योगीले उद्योग स्थापना नगरेपछि सेज प्राधिकरणले केही उद्योगीसँगको सम्झौता रद्ध गरेको थियो । त्यसपछि उद्योग स्थापनाका लागि प्लट लिन पुनः आह्वान गरिएको थियो ।
विशेष आर्थिक क्षेत्र भैरहवाको कम्पयुटर अपरेटर निरा भट्टराईका अनुसार सब स्टेशन, एकद्वार अन्तर्गत भन्सारको काम प्रक्रियामा छ भने परिसरमा हाल बैंक, बिमा, हुलाक लगायतका सेवा कार्यालय छन् । सेजमा विशेषगरी वातावरणलाई असर नगर्ने खाद्य उद्योग तथा कृषि जन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका बस्तु, तयारी पोशाक, गलैचा तथा उनी समान, पश्मिना तथा रेशम, हाते कागजका बस्तु गरी १७ किसिमका उद्योगहरु रहने व्यवस्था छ ।
प्रतिकृया दिनुहोस्