May 29, 2022, Sunday
१५ जेष्ठ २०७९, आईतवार

भैरहवामा सुजुकीका मोटर पार्टस् विक्री सुरु

भैरहवा– ब्यवसायीहरु मोहित रौनियार र सुरेश पन्थीको संयुक्त लगानीमा भैरहवामा सुजुकी गाडीमा प्रयोग हुने मोटर पार्टस्को विक्री सुरु भएको छ । सुजुकी गाडीको आधिकारीक बिक्रेताको रुपमा एमएस सप्लायर्सले मोटर पार्टस् विक्री सुरु गरेको हो ।

Advertisement

सप्लायर्सको विक्री सुरुवात गर्दै सुजुकीका नेशनल पार्टस् व्यवस्थापक बलराम गौतमले ग्राहकहरुलाई सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यसहित पहिलो पटम भैरहवामा आधिकारीक बिक्रेता तोकेको जानकारी दिए । यस क्षेत्रका सुजुकीका ग्राहकहरु आधिकारीक बिक्रेताको अभावमा भारतबाट कमसल खालको पार्टस् प्रयोग गरिरहेकोमा अब त्यो बाध्यता अन्त्य हुने विश्वास ब्यक्त गरे ।

३५ बर्षदेखि सिजी कम्पनीले सुजुकीको गाडीहरु बिक्री गर्दै आएकोमा यस क्षेत्रमा करिब ७ देखि ८ हजार गाडी बिक्री गरिसकेको उनले बताए । वार्षिक रुपमा पार्टस्मै करिब १२ करोडको कारोबार हुने गरेको उनले अनुमान गरे । यस बाहेक बार्षिक रुपमा सुजुकीको बिक्री ७ देखि ८ सयको हाराहारीमा रहेको र करिब १५ लाख रुपैयाँको पार्टस् बिक्री बार्षिक रुपमा थपिँदै गएको गौतमले जानकारी दिए ।

सप्लायर्स मार्फत् कम्पनीले निर्धारण गरेको मूल्यमा पार्टस् विक्री गरिने भएकाले भारतीय बजारमा पाइने पार्टस् मूल्य भन्दा किफायती हुने एमएस सप्लायर्सका प्रवन्ध निर्देशक सुरेश पन्थीले बताए । उनले सुजुकीको इन्जिनदेखि अन्य स–साना पार्टस्हरु समेत यो आउटलेटबाट खरिद गर्न सकिने जनाए ।

अर्का प्रवन्ध निर्देशक मोहित रौनियारले भारतमा बिभिन्न कर र जियसटी लगायतको कारण नेपालको तुलनामा महङ्गो पर्ने तथा कमसल खालको पार्टस् मात्र पाइने भएकाले बिक्रीको सम्भावना देखेर लगानी गरेको बताए । उनले करिब १ करोडको लागतमा ब्यवसाय सञ्चालन गरेको जनाए ।