April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

नेपालगन्ज रंगशाला : सेन्थेटिक ट्रयाकका लागि १३ करोड ८५ लाख बजेट सुनिश्चित

बाँकेको नेपालगन्ज रंगशालाको स्तरोन्नति हुने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ । युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले सेन्थेटिक ट्रयाक निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरेसँगै रंगशालाको स्तरोन्नती हुने भएको हो ।

Advertisement

चालु आर्थिक वर्षभित्रै सेन्थेटिक ट्रयाक निर्माणको ठेक्का खोल्न मिल्ने गरी अर्थ मन्त्रालयले १३ करोड ८५ लाख बजेटको स्रोत सुनिश्चित गरेको हो । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्त्री पद सम्हालेदेखि नै नेपालगन्ज रंगशालाको अधुरो काम पुरा गर्ने प्रतिवद्धता जनाउँदै आएका थिए । 

Advertisement

रंगशालामा सेन्थेटिक ट्रयाकका साथै फ्लड लाइट जडानका लागि पहल गर्दै आएका मन्त्री अथकले चालु आर्थिक वर्ष भित्रै निर्माण कार्य सुरु हुने गरी सेन्थेटिक ट्रयाकका लागि बजेट सुनिश्चित गराएका हुन् ।

आठौं राष्ट्रिय खेलकुदका क्रममा निर्माण थालिएको रंगशाला समय अभावको कारण देखाउँदै अधुरै छाडिएको थियो । रनिङ ट्रयाक (सेन्थेटिक ट्रयाक) निर्माण, फ्लड लाइट जडान लगाएतका महत्वपूर्ण काम बाँकी रहेको उक्त रंगशाला अहिले पनि अपुरो अवस्थामा रहेको छ । बजेटको स्रोत सुनिश्चित भएसँगै नेपालगन्ज रंगशाला स्तरोन्नतीको प्रक्रिया सुरु भएको छ ।