June 12, 2025, Thursday
२०८२ जेष्ठ ३० शुक्रबार

विदेशी पर्यटक बढ्न थाले

बर्दिया– अन्तर्राष्ट्रिय हवाई उडान खुला भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा विदेशी पर्यटकको आगमन बढेको छ । पर्यटकले होटल बुकिङ गर्न थालेपछि अहिले यहाँका पर्यटन व्यवसायी हर्षित देखिन थालेका छन् ।

गत कात्तिक महिनायता झन्डै ६ सय विदेशी पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् । यसै अवधिमा गत वर्ष सयको हाराहारीमा पनि विदेशी पर्यटक आएका थिएनन् । बर्दिया निकुञ्जमा सहजै बाघ हेर्न पाइने भन्दै यहाँ पर्यटक आउने गरेका हुन् ।

Advertisement

बाघ हेर्नका लागि चैतदेखि जेठ महिना उत्तम मानिन्छ । यतिबेला झाडी नहुने भएकाले बाघ सहजै देख्न सकिने पथ प्रदर्शक अनुराम चौधरीले बताए । ‘स्वदेशी हुन् वा विदेशी, सबैको चाहना निकुञ्जभित्र बाघ हेर्ने हुने गरेको छ,’ उनले भने ।

गत कात्तिकयता ७ हजार बढी आन्तरिक पर्यटक यहाँ भित्रिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख विष्णुप्रसाद श्रेष्ठले बताए । सोही अवधिमा सार्क मुलुकबाट ८ सय बढी पर्यटक आएको उनले बताए । निकुञ्जमा हात्ती सफारी भने अझै खुलेको छैन ।

कोभिड–१९ पूर्णरूपमा नियन्त्रणमा नआएसम्म हात्ती सफारी सञ्चालनमा नआउने निकुञ्जले जनाएको छ । जिप सफारी र पैदल अनुगमन भने खुला छ । बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएको बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आउने पर्यटकका लागि यो मौसम निकै फलदायी रहेको पर्यटन व्यवसायी रामजीबाबु थापाले बताए ।

नेपालकै पूर्व मेचीदेखि महाकालीसम्मबाट यहाँ पर्यटक आउन थालेको उनले सुनाए । बर्दियामा सहजै बाघ देख्न पाइने भएका कारण पनि पर्यटक आउने क्रम बढ्दै गएको बबई रिसोर्टका सञ्चालक धर्मराज घिमिरेले बताए । ‘निकुञ्जमा शनिबार १२ देखि १५ वटा समूह निकुञ्ज अवलोकनका लागि आउने गरेका छन्,’ उनले भने ।