नेपालगन्जमा थपिँदै ठूला होटल
बाँके- ३० वर्ष अघि भेरी र स्नेहा होटल स्थापना गरिएको थियो । तारे होटलको सुबिधा दिएर दुबैले ग्राहक तान्ने प्रयास गरेका थिए । लामो अवधि यस क्षेत्रका ठूला होटलमा यी दुईको नाम आउँथ्यो । अहिले सेवा, सुविधा र गुणस्तरमा साधारण होटलले समेत तारे स्तरकालाई चुनौती दिन थालेका छन् ।
ब्यबसायिक चुनौतिको समाना गर्न अधिकांशले भौतिक पूर्वाधार थप गर्न थालेका छन्। बाँकेको नेपालगञ्जमा एक दर्जन तारे होटल छन् । ‘नेपालगन्जका तारे होटलको दररेट अन्य ठाउँको भन्दा सामान्य छ’, सिद्धार्थ ग्रुप अफ हस्पिटालिटिजका निर्देशक केशव न्यौपानेले भने, ‘धराशयी हुने स्थितिमा पुगेको ब्यवसाय तग्रिँदै छ ।’
यहाँ क्यासिनोका कारण भारतीय पर्यटक आउँछन् । नेपालगन्जमा होटल सोल्टीदेखि कोहलपुरको सेन्ट्रल प्लाजासम्मले क्षमता बिस्तार गर्दै सम्भाव्यता अध्ययन गर्न थालेका छन् । धमाधम स्तरीय होटल खुलिरहँदा कसरी चल्ने र स्थायित्व ग्रहण भन्नेबारे लगानीकर्ता गम्भीर नभएको सेन्ट्रल प्लाजाका सञ्चालक देवानन्द अर्यालले बताए । उनले भने, ‘प्रतिस्पर्धा गरौं तर व्यवसाय बढ्ने गरी ।’
सस्तो दिने प्रतिस्पर्धामा रहेका यहाँका होटलहरु सेवा भने कसले स्तरीय दिनसक्छ भन्ने होडबाजीमा छन् । बजार प्रवर्ध्दनका लागि अन्तर्राष्ट्रिय ट्राभल एजेन्ट कन्फ्रेन्स जस्ता कार्यक्रम हुन थालेका छन् । होटल सोल्टीका जनरल म्यानेजर प्रबिन्द्र सिंहका अनुसार अहिले पाहुना आउने क्रम बढेको छ । सरकारी तथा गैसरकारी संस्था र कर्पोरेटका पाहुनाले भरिने सोल्टीले इको फेन्डली सेवा प्रदान गरिरहेको उनले बताए ।
‘यस्तो प्रयासले यहाँका व्यवसायीहरु बीचको एकता र स्वस्थ प्रतिस्पर्धामा बल पुग्छ’, उनले भने,‘व्यवसायिक एकताबाट स्वस्थ प्रतिस्पर्धाको विकास गर्न खोजेका छौं ।’ पर्यटन प्रबर्द्धन मंच जिल्ला अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले संख्यासंगै होटलको स्तरोन्नती हुनु सकारात्मक भएको बताए ।
बाँकेमा ८ वटा क्यासिनो संचालित छन् । सोल्टी ,सेन्टर प्लाजा गरी दुईवटा पाइभ स्टारका र बाँकी फोर स्टारका छन् । २०७२ सालदेखि मानसरोबर ट्रान्जिन्ट प्वाइन्ट बनेको नेपालगंजमा पर्यटकका कारण भारतीय पैसा नेपाल भित्रिएको छ ।
प्रतिकृया दिनुहोस्