April 18, 2025, Friday
२०८२ बैशाख ५

हिउँदे झरीले गहुँ उत्पादनमा कमी

भैरहवा– पाकेको धान बाली भित्र्याउने बेला परेको झरीले धान नष्ट भएर ठूलो नोक्सानी ब्यहोरेका नेपाली किसानले गहुँ उत्पादनमा पनि कमी भएर नोक्सान बेहोर्नु पर्ने भएको छ । गहुँ उत्पादनमा कमी आउनुको कारण पनि गएको हिउँदमा परेको झरी नै हो ।

गत मंसीरमा चार पटकसम्म भएको हिउँदे झरीले यस पटकको गहुँ उत्पादनमा असर पारेको नेपालमा गहुँ खेतीकाबारेमा अध्ययन अनुसन्धान गर्दै आएको भैरहवास्थित राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले जनाएको छ । पटक–पटक आएको झरीले भर्खरै उम्रेको गहुँ वाली धेरै दिनसम्म खेतमा डुबेकाले उत्पादनमा असर पारेको निष्कर्ष उक्त कार्यक्रमले गरेको हो ।

Advertisement

‘गत मंसिरमा पटक–पटक भएको झरीले गहुँको उत्पादनमा असर पार्ने भएको छ’, कार्यक्रमका गहुँवाली विशेषज्ञ विश्वेश्वरप्रसाद पाण्डेले भने, ‘भर्खरै उम्रेको गहुँको बिरुवा धेरै दिनसम्म खेतमा डुब्नाले धेरै बिरुवा मरे भने कैयन बिरुवाले पात र गांज राम्ररी हाल्न सकेन ।’

उनका अनुसार, यस पटकको गहुँ उत्पादनमा प्रतिहेक्टर न्यूनतम पनि ३ क्विन्टलका दरले उत्पादनमा कमी आउने अध्ययनले देखाएको छ । नेपालमा धान र मकै पछिको तेस्रो खाद्य बालीको रुपमा गहुँ रहेको छ । गत आव २०७६–०७७ मा नेपालको ७ लाख ७ हजार ५ सय ५ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको थियो । उत्पादकत्व प्रतिहेक्टर ३ दशमलव ०८ मेट्रिक थियो । कुल उत्पादन २१ लाख ८५ हजार २ सय ८९ मेट्रिक टन थियो ।

‘गत वर्ष हिउँदे झरी परेको थिएन, गहुँ लगाउनका लागि मंसीरको पहिलो हप्तादेखि तेस्रो हप्तासम्म अनुकुल समय मानिन्छ’, पाण्डेले भने, ‘यही अवधिमा चार पटकसम्म हिउँदे झरी भयो ।’ गहुँ लगाइएका तराईका समथल खेतमा धेरै दिनसम्म पानीले जमेको उनले बताए ।

अनुसन्धानका लागि गहुँ बाली अनुसन्धान परिसरमा लगाइएका बिज बृद्धि प्रजनन बीउमा पनि झरीले असर पारेकाले बहु भिटामिन दिएर बिकसित गरिएको छ । नेपालमा गहुँ बालीले वार्षिक ३५ अर्ब भन्दा बढी मूल्यको आन्तरिक खाद्यान्न आपूर्ति गर्ने गरेको पाण्डेले जनाए ।