१२ करोडमा कृषि भवन
भैरहवा– यहाँको सिद्धार्थनगर नगरपालिकाले १२ करोड भन्दा बढी लागतमा कृषि बजार भवन निर्माण गरेको छ । अत्याधुनिक डिजाइन र प्रविधिमा निर्माण गरिएको कृषि भवनको शुक्रबार नगर प्रमुख हरिप्रसाद अधिकारीले उद्घाटन गरेका छन् ।
नगरपालिकाका बरिष्ठ इन्जिनियर जीवन अर्यालकाअनुसार कृषि बजार पूर्वाधार विकास कार्यक्रम अन्तर्गत बनाइएको उक्त कृषि भवन १२ करोड १३ लाख ३६ हजार रुपैयाँ लागतमा निर्माण भएको हो । नगरपालिकाले ए र बी ब्लक गरी दुईवटा भवन निर्माण गर्ने लक्ष्यअनुरुप ए ब्लकको भवन निर्माण गरेको हो । बी ब्लकको भवन निर्माणको चरणमा छ ।
वडा नम्बर पाँचमा निर्माण गरिएको ए ब्लक भवन काठमाडौंको रामसागर जेभीले तीन वर्ष लगाएर निर्माण गरेको हो । भवन अण्डर ग्राउण्ड पार्किङसहित पाँच तल्लाको छ । ५७ वटा सटर रहेको उक्त भवनमा कृषि थोक सामानलाई विशेष प्राथमिकता दिएर राखिने उपप्रमुख उमा काफ्लेले बताइन्
अहिले भवन बनेको ठाउँमा यसअघि हप्तामा दुई दिन हाटबजार लाग्ने गथ्र्यो । उक्त बजारलाई व्यवस्थित गरी सुविधा सम्पन्न भवनमा राख्नका लागि कृषि भवन बनाइएको हो । ‘एकै ठाउँबाट सम्पूर्ण सामान उपलब्ध हुने गरी भवन बनाइएको हो’, काफ्लेले भनिन् ‘यसले व्यापारी, किसान र उपभोक्ता सबैलाई सहज हुने हामीले विश्वास लिएका छौं ।’
भवनमा एकपटकमा १४ जना अट्न सक्ने लिफ्ट जडान गरिएको छ । यस्तै, २७ वटा चारपाँग्रे कार र ५० वटा मोटरसाइकल अट्ने अन्डर ग्राउण्ड पार्किङ बनाइएको छ । भवनमा इमरजेन्सी ढोकासमेत राखिएको छ । नगरपालिकाका अनुसार सुरुका दुई तल्लामा तरकारी बजार, फर्निचर, फेन्सी, घडी, पुस्तक पसल राखिने छ । यस्तै, अन्य तल्लामा बैंक तथा वित्तीय संस्थाको कार्यालय, इलेक्ट्रोनिक पसल, रेष्टुरेन्ट, सभाहल, कार्यालय राखिने छ ।
निर्माणाधीन बी ब्लकमा कोल्डस्टोर, सिनेमा हललगायत अन्य दैनिक उपभोग्य र खुद्रा तथा अत्यावश्यक सामान राखिने छ । भवन उद्घाटन गर्दै नगर प्रमुख अधिकारीले न्युन पुँजी हुँदाहुँदै पनि बजार व्यवस्थित गर्न र आन्तरिक स्रोत बृद्धिका लागि भवन निर्माण गरिएको जनाए । आफ्नो कार्यकालमा नगरलाई समृद्ध गराउन लागिपरेको उनले जनाए ।
ए ब्लकको भवनमा मासिक १२ लाख रुपैयाँ नगरपालिकालाई आम्दानी हुने बताइएको छ । वडा नम्बर ५ का वडाध्यक्ष चेतबहादुर क्षेत्रीले छरिएर रहेका व्यवसायीलाई एकै ठाउँमा ल्याउन कृषि भवन उपलब्धीमूलक हुने विश्वास गरे । भूकम्परहित र प्रविधिमैत्री बनाइएको उक्त भवन नगरपालिकाले व्यवसायिकरुपमा भाडामा लगाउने तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले जानकारी दिए । उद्घाटन कार्यक्रममा बोल्ने उद्योगी–व्यवसायी, राजनीति दलका नेता र स्थानीयले भवनको सही सदुपयोग गर्न नगरपालिकालाई आग्रह गरेका थिए ।
लेखकको सम्वन्धमा