उखु किसानलाई भुक्तानी कहिले ?


भैरहवा– लुम्बिनी प्रदेशमा उखु खेती हुँदै आएको पश्चिम नवलपरासीका किसानको चार वर्षदेखि एउटै बिलौना छ– ‘हामीले भुक्तानी कहिले पाउने ?’ । विक्री हुनासाथ भुक्तानी हात पर्ने विश्वासमा खेती गर्दै आएका किसानलाई उखु भारी भएको छ । वर्षभरि दुःख गरेर उत्पादन गरेको उखु विक्री भएको लामो समय भुक्तानी नपाउने भएपछि उनीहरु वैकल्पिक खेतीमा अग्रसर भएका छन् ।
भुक्तानीका लागि स्थानीय, प्रदेश र संघीय सरकार समक्ष हारगुहार गरे पनि माग सुनुवाई हुन सकेको छैन । जसले गर्दा किसानको निराशा बढ्दै गएको छ । चिनी उद्योगका सञ्चालकले विभिन्न बहाना बनाउँदै भुक्तानी गर्न आकाकानी गर्दै आएको किसानले दुखेसो पोखेका छन् । पश्चिम नवलपरासीस्थित इन्दिरा सुगर मिलले दुई करोड रुपैयाँभन्दा बढी रकम किसानलाई दिन बाँकी छ । यो कारखाना तीन वर्षदेखि बन्द छ ।
उद्योगका संचालक राकेश अग्रवाललाई प्रहरीले गतवर्षको माघमा जिल्ला अदालत नवलपरासीमा ठगी मुद्दा दायर भएको थियो । तत्कालै किसानको रकम भुक्तानी गर्ने प्रतिबद्धता गरेर धरौटी रकममा रिहा भएका अग्रवालले अहिलेसम्म रकम भुक्तानी गर्न चासो नदिएको उखु उत्पादक किसान समिति लुम्बिनी प्रदेशका अध्यक्ष उमेश यादवले बताए ।
सरकारले आर्थिक वर्ष २०७७–७८ मा सरकारले निर्धारण गरेको मूल्यमा बागमती चिनी उद्योगले प्रतिक्विन्टल ८ रुपैयाँका दरले कम भुक्तान गरेको छ । सरकारले ढिलो गरेर मूल्य निर्धारण गर्दा किसानले उद्योगलाई अघिल्लो वर्षको मूल्यमा तत्काल उखु बिक्री गर्ने र बढेको मूल्य उद्योगले थप गर्ने गरेका छन् । सोही अनुसार बागमती चिनी उद्योगले करिब ४० लाख रुपैयाँ किसानलाई दिनुपर्ने भए पनि अहिलेसम्म भुक्तानी गरेको छैन् ।
उखु उत्पादक किसान समितिले बिज्ञप्ति मार्फत तत्काल किसानको रकम भुक्तानी दिनुपर्ने र नदिएमा उद्योगीलाई कारवाही गर्न माग गरेको छ । चिनी उद्योगलाई उखुको अभाव भएको छ । पाँच–सात वर्ष अगाडिसम्म प्रशस्त उखु उत्पादन हुने जिल्लामा अहिले उत्पादन ह्वात्तै घटेको छ । जसको कारण वर्षमा तीन महिना संचालन हुने उद्योग अहिले मुस्किलले एक महिना मात्र संचालन हुने गरेका छन् ।
जिल्लामा रहेको चार वटा चिनी उद्योग मध्य कच्चा पर्दाको अभाव र भुक्तानीको समस्याको कारण दुई वटा उद्योगमात्र अहिले संचालनमा छन् । बागमती चिनी उद्योग, कुडिया र लुम्बिनी सुगर मिल, सुनवल संचालनमा छन् । इन्दिरा सुगर मिल र मोहिनी सुगर मिल, मोजरहिया बन्द रहेका छन् ।
जिल्लामा सबैभन्दा धेरै २०५९ सालमा ४५ लाख क्विन्टल उखु उत्पादन भएको थियो । गत वर्षसम्ममा २० लाखमा झरेको छ । १२ हजार हेक्टरबाट अहिले ५ हजार हेक्टर क्षेत्रफलमा उखु खेती खुम्चिएको छ ।
प्रतिकृया दिनुहोस्