६० लाखमा सिद्धार्थनगर–७ को वडा कार्यालय भवन निर्माण


भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ को वडा कार्यालय भवन निर्माण भएको छ । ६० लाख लागतमा वडा कार्यालय भवन निर्माण भएको नगरपालिकाका बरिष्ठ इन्जिनियर जीवन अर्यालले जानकारी दिए ।
बिहीबार एक कार्यक्रमबीच नगर प्रमुख हरिप्रसाद अधिकारीले नवनिर्मित भवनको उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दै अधिकारीले सबै वडालाई आफ्नै भवनबाट संचालन गर्ने गरी काम गरिएको जनाए । उनकाअनुसार नगरका १३ वटै वडा कार्यालय भवन बनिसकेका छन् । उनले आफ्नो कार्यकालमा पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेख्य काम भएको बताए ।
वडा कार्यालय भवनमा अध्यक्ष, वडा सचिव, बैठक हल, २ वटा सटर कोठा गरि ५ कोठा छन् । तत्कालका लागि एक तल्ला बनाइएको उक्त कार्यालय ३ तल्लासम्म बनाउने लक्ष्य राखिएको छ । भवन निर्माणसंगै कार्यालयले दिने सुविधा र सेवामा थप गुणस्तरीयता आउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले सेवाग्राहीहरुलाई छिटोछरितो सेवा प्रदान गर्न कार्यालय भवनको महत्वपूर्ण भूमिका रहने बताए । सेवाग्राहीहरुलाई प्रतिक्षा कक्ष कर्मचारीहरुको कार्यकक्ष खोजेका बखत पुराना कागजात उपलब्ध हुन सक्ने वातावरण श्रृजना गर्ने र सुरक्षाका लागि आवश्यक फाइलिङ क्याबिनेट, इन्फरमेसन टेक्नोलोजी लगायतमा सहयोग गर्नेछ ।
वडा नम्बर ७ का वडा अध्यक्ष भिमसेन कर्माचार्यको अध्यक्षता नगर प्रमुख अधिकारीको प्रमुख आथित्यता एवम उपप्रमुख उमा काफ्लेको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमामा राप्रपाका चन्द्रभक्त श्रेष्ठ, नेपाली काँग्रेसका दिपक क्षेत्री न्यौपाने, नेकपा एमालेका हितराज पन्थी, नेकपा एकीकृत समाजवादीका ऋषिराम पाण्डे लगायतले बोलेका थिए । वडा सदस्य हरि काफ्लेको स्वागत एवम् नगरपालिकाका बरिष्ठ अधिकृत शेखरनाथ पन्थीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्