May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

गौतमबुद्ध विमानस्थलमा नियमित उडान गर्न पाँच कम्पनी सम्पर्कमा

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार उडानका लागि कुवेतको जजिरा, श्रीलंकाको श्रीलंकन, नेपाल वायुसेवा निगम, कतार एयरवेज, थाइल्याण्डको थाइ स्माइल वायुसेवा कम्पनी सम्पर्कमा आएका हुन् ।

Advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीपकुमार अधिकारीले अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि विभिन्न कम्पनी सम्पर्कमा आएकाले थप अध्ययनको काम सकेर उडान–अवतरणका लागि अनुमति दिइने बताए । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरणका लागि सम्पर्कमा आएका हवाइ कम्पनीसँग हामीले छलफल गर्छौं’, उनले भने, ‘त्यसपछि हामीले यसबारे आवश्यक अध्ययन गरेर अनुमति दिनेछौं ।’

विमानस्थलमा कम्बोडिया, म्यानमार, श्रीलङ्कालगायत विभिन्न बौद्ध धर्मावलम्बी भएका मुलुकसँगै श्रमिक गन्तव्यमा उडान सेवा दिँदै आएका वायुसेवा कम्पनीको सम्भावना उल्लेख्य रहेको प्राधिकरणले बताएको छ । विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको जिम्मा पाएको नेपाल वायुसेवा निगमले छिट्टै आफ्नो कामको तयारी गर्ने वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जनाए । उनभने, ‘ग्राउण्ड ह्याण्डलिङ तयारीका लागि निगमका प्राविधिक जनशक्ति अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका छन् ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएसँगै त्यहाँबाट आउँदो जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी भएको बताइएको छ ।

हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि विमानस्थल तयारी अवस्थामा छ । विमानस्थल सञ्चालनमा ल्याउन आवश्यक पर्ने जनशक्ति पठाउनसमेत मन्त्री आलेले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । अहिले उड्डयन प्राधिकरणको टोली सोही कामका लागि केन्द्रित भएको महानिर्देशक अधिकारीले बताए । उनका अनुसार विमानस्थलको सुरक्षालगायत अन्य कामका लागि नेपाल प्रहरीका कम्तीमा पनि १७० जना र नेपाली सेनाका १७० दरबन्दी छ ।

मन्त्री आलेले नेपालमा पर्यटन प्रवद्र्धन तथा धेरैभन्दा धेरै पर्यटक नेपाल भित्र्याउनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन जरुरी रहेको बताए । कोरोना महामारीका कारण सबैभन्दा धेरै मुलुकको पर्यटन क्षेत्रमा क्षति पुगेकाले यो क्षेत्रलाई थोरै भए पनि सहयोग पुगोस् भनेर सरकारले पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि सारेको भन्दै भैरहवाबाट विदेशी पर्यटक लुम्बिनी भित्र्याउन केही सहयोग पुग्ने अपेक्षाका साथ तोकिएकै समयमा यो विमानस्थल सञ्चालनमा ल्याउन आफू लागिपरेको उनले बताए ।

सरकारले आगामी जेठ २ गते परेको बुद्ध पूर्णिमाको अवसर पारेर सोही दिन उक्त विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरेको छ । विमानस्थल सञ्चालनमा आएपछि धार्मिक, पर्यटनसँगै खाडीमुलुकमा रोजगारीका लागि आउजाउ गर्ने यात्रुलाई थप सहज हुने भएकाले पनि तोकिएकै मितिमा विमानस्थल सञ्चालनमा ल्याउन मन्त्री आले लागिपरेका छन् ।