August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

गाउँभरि कर छलेको युुव पराग गुट्खा

भैरहवा- कपिलवस्तु र रुपन्देहीको दक्षिणी सिमावर्ती ग्रामीण क्षेत्रका किराना पसलमा ‘युव पराग’ ब्राण्डको खुट्खा किन्न माग्नुस् । सानो प्याकेट सहजै पाउनु हुन्छ । तर, ठूलै पोका किन्न खोज्नु भयो भने पाउन मुस्किल छ । धेरै प्याकेट रहेका ठूलै पोका एकै पटक बिक्री गर्दा त फाइदा हुने भएकाले पसलेले सहजै दिनु पर्ने । तर होइन, यहाँ ठूलो रहस्य लुकेको छ ।

Advertisement

अझ रमाइलो कुरा त के छ भने त्यस गुट्खाको ठूलै प्याकेट किन्न जसरी तसरी तपाइँले पसलेलाई मनाउनु भयो भने पनि तपाइँलाई पसलेले खुब नियाल्छन् । घर कता हो ? किन यति धेरै किन्न खोज्नु भयो ? नानाभाती सोधपुछ गर्छन् । कुनै शंका मानेमा दिँदैनन् । आखिर, पैसा दिएर किन्ने हो , तर पनि पाइँदैन ।

Advertisement

दुई दिन अघि कपिलबस्तुको सदरमुकाम तौलिहवादेखि कृष्णनगर जाने हुलाकी सडकमा पर्ने ग्रामीण क्षेत्रका किराना पसलमा पब्लिक कुराको स्थलगत निरीक्षणका क्रममा यस्ता घटना बारम्बार दोहोरिए । महाराजगंजको वडा नम्बर १, २, ३, ४, र बुद्धभूमि नगरपालिकाका बिभिन्न ठाउँ, बहादुरगंज, गैडहवा, बरगाद लगायतका ठाउँका ग्रामीण क्षेत्रका किराना पसलमा ।

पछि बल्ल थाहा भयो, त्यस ब्राण्डको गुट्खामा कर छलेर बिक्री गर्ने गरिँदो रहेछ । गुट्खा लगायतका सूर्तिजन्य पदार्थको उत्पादन गरेपछि बिक्रीका लागि बजारमा लैजानु पूर्व अन्तशुल्कका स्टीकर अनिवार्य टाँस्नुपर्ने कानूनी प्रावधान छ । साना प्योकटमा स्टिकर टाँसेको हुँदैन । ठुलो पोकामा बाहिरै स्टिकर टाँसेको हुनुपर्छ । अनि बल्ल यो रहस्य खुल्यो । किन पसलेले सानो प्याकेट बिक्री गर्ने तर ठूलो पोका किन बिक्री गर्न मान्दैनन् भन्ने ।

यो गुट्खाको उत्पादक कपिलवस्तुको वाणगंगा नगरपालिका–४, सिउटीमा रहेको महाशक्ति गुट्खा उद्योग हो । यो उद्योगले कर छलि गरेर बिना स्टिकर बिक्री गर्ने गरेको उक्त गुट्खाको केही पोका पब्लिक कुराले प्रमाण स्वरुप प्राप्त गरेको छ । उद्योगले आफ्ना आधिकारिक डिलर मार्फत् बिना स्टिकरका उक्त ब्राण्डका गुट्खा प्रशस्त मात्रामा बिक्री बितरण गर्दै आएको हो ।

खुलमखुल्ला अन्तशुल्कका स्टीकर विनै कर छलि गरिएका गुट्खा विक्री बितरण भैरहँदा पनि अनुगमन र कारवाही गर्ने आधिकारिक निकाय आन्तरिक राजश्व कार्यालय र राजश्व अनुसन्धान कार्यालय भने गुपचुप छन् । अझ गजवको कुरा त के छ भने, यस उद्योगले यस भन्दा अघि पनि पटक पटक कर छलि गरेको र कारवाही चलिरहेको स्वयम् कर्मचारी बताउँछन् । तर यति हुँदाहुँदै पनि सम्बन्धित कार्यालयको अनुगमन यति फितलो हुनु आफैमा रहस्यमय हो ।

बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयका प्रमुख अनुशन्धान अधिकृत राजेन्द्र पन्थीले उक्त ब्राण्डको गुट्खा प्रारम्भिक रुपमा हेर्दा बिना स्टिकरको रहेकाले राजश्व छलेको देखिएको बताए । ‘यस वारेमा प्रतिबेदन तयार पारि बिस्तृत अध्ययन र अनुशनधान गरिने छ’, पन्थीले भने । गुट्खाको बिक्री गर्नका लागि गुट्खाको पोकामा अन्तशुल्क तिरेको स्टिकर अनिबार्य रुपमा हुनै पर्ने उनले बताए ।

आन्तरिक राजश्व कार्यालय कृष्णनगर कपिलबस्तुका प्रमुख कर अधिकृत दिनेश पाण्डेले यस वारेमा अनुशन्धान सुरु गर्ने जनाए । ‘उद्योगमा पुगेर आवश्यक अनुसन्धान गर्छौं’, उनले भने, ‘अनुसन्धान पछि आवश्यक कारबाही प्रकृया अघि बढाउँछौं ।’ अन्तशुल्कको स्टीकरविनै गुट्खा विक्री गर्नु राज्यलाई ठगेको हुने र यो उद्योगले विगतमा पनि यस्तै बद्मासी गरेका उजुरी परेको उनले बताए ।

गुट्खाको उत्पादकले अन्तशुल्क, १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) र स्वास्थ्य जोखिम कर तिनुपर्छ । बजारमा फेला परेको यो गुट्खाको प्याकेट १ सय ५० ग्रामको छ । अन्तशुल्कका स्टीकर विनै २ सय १५ रुपैयाँमा विक्री भइरहेको छ । यदि अन्तशुल्क, भ्याट र स्वास्थ्य जोखिम कर तिर्ने हो भने यसको उत्पादन लागत न्युनतम पनि २ सय ६० रुपैयाँ पर्न जाने जानकार बताउँछन् । राजश्व छलेर निकै सस्तो दरमा विक्री गर्दा उद्योगले करोडौं नाफा आर्जन गरिरहेको आरोप उत्पादकामाथि लागेको छ ।

राजश्व कार्यालयका अनुसार १ सय ५० ग्रामको गुट्खामा १ सय २१ रुपैयाँ ८ पैसा अन्तशुल्क, ४३ रुपैयाँ ७८ पैसा भ्याट र ९ रुपैयाँ स्वास्थ्य जोखिम कर लाग्छ । उद्योगका संचालक सोहन पन्थीले भने आफूहरु साना व्यापारी भएको र आफ्नो उत्पादनलाई फसाउन अरुले स्टीकर विनाका नक्कली गुट्खा बजारमा पठाएको हुनसक्ने बताए ।

अन्तशुल्कको स्टीकर नटाँसी विक्री गर्दा के हुन्छ ? भन्ने राम्ररी जानकारी आफूहरुलाई रहेको दावी गर्दै उनले आफ्नो उद्योगलाई फसाउन प्रतिष्पर्धी अरु कसैको षढयन्त्र हुनसक्ने भनाइ उनको थियो । आफ्नो उत्पादनको कुनै प्रतिष्पर्धीले भारतबाट गुट्खा ल्याएर आफ्नो उद्योगको नक्कली उत्पादन गरेर बजारमा पठाएको हुनसक्ने अनुमान उनले गरे ।