January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

लुम्बिनी घुम्ने ह्वात्तै बढे

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकको संख्या ह्वात्तै बढेको छ । विद्यालयले लुम्बिनीलाई प्राथमिकतामा राखेर शैक्षिक भ्रमण गराउन थालेपछि संख्या उल्लेख्य रुपमा बढेको हो ।

Advertisement

विद्यार्थी बाहेक अन्य आन्तरिक र बाह्य पर्यटकको संख्यामा पनि बृद्धि भएको छ । शैक्षिक भ्रमणको क्रममा सुदूरपश्चिमबाट लुम्बिनी घुम्न आएकी अस्मिता अधिकारीले दुई वर्षपछि पहिलो पटक निर्धक्क भएर हिँड्न पाएको बताइन् ।

‘साथीसँग खुल्ला रुपमा घुम्न पाउँदा खुसी छु’, अस्मिताले भनिन् । कोरोना महामारीले घुम्न नपाएका विद्यार्थी विद्यालयकै पहलमा घुम्न पाउँदा निकै खुसी देखिन्थे । नयाँ ठाउँ र परिवेशको अनुभव लिन पाउँदा थप हौसला मिलेको विद्यार्थी गरिमा बोहोराले सुनाइन् ।

विद्यार्थी जीवनमा शैक्षिक भ्रमण भनेपछि सबै विद्यार्थी उत्साहित हुन्छन् । गएका दुईवटा शैक्षिक सत्रमा विद्यार्थी घुम्न पाएनन् । कतै यो वर्ष पनि हुँदैन की भन्ने दुविधा थियो । तर आफूहरु सहभागी हुन पाएकोमा धेरै उत्साहित भएको सिद्धार्थ खड्काले बताए ।

शैक्षिक भ्रमणमा लुम्बिनीलाई प्रमुख गन्तब्य स्थलका रुपमा विद्यालयले राखेका छन् । केही दिन यता लुम्बिनीमा पर्यटकको संख्या बढेको तथ्यांकले पनि त्यो पुष्टि गर्छ । आन्तरिकसँगै बाह्य मुलुकका पर्यटकको संख्या पनि बढ्न थालेको छ । सुस्ताएको लुम्बिनीको पर्यटन पर्यटकको अवागमनसँगै बिस्तारै गतिशिल भैरहेको लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले बताए ।

अहिले दैनिक पाँच हजार बढी पर्यटक आइरहेका छन् । शनिबार र आइतबार त्यो संख्या दोब्बर हुने विकास कोषले जनाएको छ । अधिकांश नागरिकले खोप लगाएकाले निर्धक्क भएर घुमफिर गर्न थालेका हुन् । कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डलाई भने पालना गर्नुपर्ने चिकित्सकको सुझाब छ ।