April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

योजना सम्मेलन : १० बुँदे लुम्बिनी घोषणापत्र जारी

लुम्बिनी प्रदेश योजना आयोगद्वारा आयोजित योजना सम्मेलन २०७८ बुटवलमा सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोग सहित सातवटै प्रदेश योजना आयोगका पदाधिकारीहरूको सहभागिता रहेको दुई दिने योजना सम्मेलन १० बुँदे लुम्बिनी घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।  दुई दिने योजना सम्मेलनमा प्रादेशिक योजना तथा बजेट तर्जुमा,सम्भाव्य महत्वपूर्ण बिषयमा छलफल भएको प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षत्रीले बताए ।

Advertisement

सम्मेलनले राष्ट्रिय योजना आयोग र सातवटै प्रदेश योजना आयोग बीचको समन्वयलाई प्रभावकारी रुपमा स्थापित गर्ने, सहअस्तित्व ,समन्वय र सहकार्यको संस्कृतिलाई आत्मसात गरी प्रदेशहरुबीचको साझा दृष्टिकोण कायम गर्नेछ । यस्तै राष्ट्रिय र प्रादेशिक सन्तुलनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने, राष्ट्रिय योजना आयोगले संघ, प्रदेश स्थानीय तहबाट कार्यान्वयन गर्दै आयोजना÷कार्यक्रम वर्गीकरणसम्बन्धी मापदण्ड तर्जुमा गर्नेछ ।

Advertisement

सम्मेलनमा राष्ट्रिय योजना आयोगले समन्वय गर्ने, प्रदेशहरुको आन्तरिक स्रोतहरुको पहिचान र विस्तारका लागि कानूनी र संस्थागत विकासमा जोड दिने लगायतका बिषयमा सहमति कायम भएको प्रदेश योजना आयोगका प्रवक्ता डा.दामोदर भुसालले जानकारी दिए ।

सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंह, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. रघुराम काफ्ले, प्रदेश नं २ का प्रदेश योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा, लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव डिल्लीराम शर्मा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले ‘प्रादेशिक योजना तथा बजेट तर्जुमा,परियोजना बैंक र सम्भाव्य लगानीका क्षेत्रहरु, तहगत समन्वयः समस्या, चुनौती र भावी कार्यदिशा’ बिषयक प्रस्तुति दिएका थिए । सम्मेलनको आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले उद्घाटन गरेका थिए ।