December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

भारतको सहयोगमा रुपन्देहीमा विद्यालय भवन निर्माण सुरु

भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको बुटवलस्थित श्री नहरपुर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख करुण वंशल र बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले भवनको शिलान्यास गरेका हुन् ।

Advertisement

भारत–नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा सो नयाँ विद्यालय भवनको निर्माण हुनेछ ।  निर्माण खर्च करिब ४ करोडभन्दा धेरै पर्ने अनुमान गरिएको छ । 

सन् १९७१ मा स्थापना भएको श्री नहरपुर माध्यमिक विद्यालय यस क्षेत्रको पुरानो विद्यालय हो । निर्माण सम्पन्न भएपछि विद्यालय नयाँ भवनमा सर्नेछ । हाल विद्यालयमा ११२७ जना विद्यार्थीहरु अध्ययनरत छन् जसमा करिब ५०% छात्रा रहेका छन्  ।

सन् २००३ यता भारतले नेपालका सातैवटा प्रदेशमा स्वास्थ्य, खानेपानी, कनेक्टिभिटि, सरसफाई लगायत सार्वजनिक उपयोगिताका क्षेत्रहरुमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत ४५४ वटा परियोजनाको निर्माण सम्पन्न गरिसकेको छ ।