भैरहवा–नेपालगञ्ज हवाई सेवामार्फत् जोड्न आग्रह
बुटवल– सौर्य एयरलाइन्सलाई यस क्षेत्रका उद्योगी–व्यबसायीले भैरहवा–नेपालगञ्जलाई पनि हवाई सेवामार्फत् जोड्न सुझाव दिएका छन् । व्यवसायिक प्रवद्र्धनका लागि रुपन्देही आएको सौर्य एयरलाइन्सको टोलीलाई बुटवल उद्योग बाणिज्य संघमा स्वागत गर्दै उद्योगी व्यबसायीले भैरहवा–विराटनगर जस्तै भैरहवा–नेपालगञ्जलाई पनि हवाई यातायातमा जोड्न सुझाव दिएका हुन् ।
सौर्यले हालैमात्रै भैरहवा–बिराटनगर सिधा उडान सुरु गरेको छ । व्यबसायिक प्रवद्र्धनका लागि रुपन्देही आएको सौर्यको टिमलाई बिहीबार बुटवल उद्योग बाणिज्य संघले स्वागत गरेको थियो । उक्त टिमलाई स्वागत गर्दै अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघको स्थापना भएदेखि नै यस क्षेत्रको आर्थिक तथा सामाजिक बिकासमा उल्लेखनीय योगदान गरेको स्मरण गरे ।
उनले संघले यस क्षेत्रको शिक्षा तथा स्वास्थ्य र सुरक्षाको क्षेत्रमा गरेको कार्यहरुको चर्चा गर्दै लुम्बिनी प्रदेशमा बुद्धजन्मस्थल लुम्बिनी मात्रै नभएर प्रदेशका १२ वटै जिल्लामा लुम्बिनीसंग सम्बन्धित र अन्य ऐतिहासिक तथा पर्यटकीय क्षेत्र रहेको जानकारी गराए ।
अध्यक्ष कसजूले भैरहवा–विराटनगर जस्तै भैरहवा–नेपालगञ्ज उडानमा पनि उत्तिकै सम्भावना देखिएको बताउँदै त्यसको प्रवन्ध मिलाउन आग्रह गरे । त्यस अवसरमा सौर्य एयरलाइन्सका उपमहाप्रवन्धक उमेश आचार्यले लुम्बिनी नेपालकै पर्यटकीय केन्द्र भएको र पूर्वबाट लुम्बिनीमा ल्याउन र लुम्बिनीबाट पूर्वको पर्यटकीय गन्तव्यको यात्रालाई सहज बनाउन भैरहवा–विराटनगर उडान थालनी गरिएको बताए ।
यसको निरन्तरताका लागि सहयोग गर्न उद्योगी व्यवसायीलाई उनले आग्रह गरे । सौर्यको जेट बिमान भएकाले यसको यात्रा धेरै सहज र चाँडो उड्ने समेत उनले जनाए ।
संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्व अध्यक्ष जीवनप्रसाद वझा, संघका पर्यटन समिति संयोजक दिनेश श्रेष्ठ, पर्यटन व्यवसायी अनिल श्रेष्ठ लगायतले भैरहवा–नेपालगञ्जको पनि उडान प्रवन्ध मिलाउन सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस्