December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

जगदम्बा सिमेन्ट गुणस्तरहीन

भैरहवा– रुपन्देहीको मायादेवी गाउँपालिकास्थित जगदम्बा सिमेन्ट उद्योगबाट उत्पादित ‘जगदम्बा पीपीसी सिमेन्ट’ गुणस्तरहीन पाइएको छ । उद्योगले बजारमा पठाएको सिमेन्टको नमूना संकलन गरी परीक्षण गर्दा गुणस्तरहीन पाइएको हो ।

Advertisement

उद्योगले गुणस्तर भन्दै उत्पादित सिमेन्ट बजारमा पठाएको थियो । तर, गुणस्तर तथा नापतौल विभागले विभिन्न समयमा गरेको बजार अनुगमनका क्रममा लिइएको नमुना परीक्षण गर्दा जगदम्बा पीपीसी सिमेन्ट गुणस्तरहीन भेटिएको विभागले बताएको छ ।

जगदम्बाको विक्रीवितरणमा रोक लगाउँदै विभागले १५ दिनभित्र स्पष्टीकरण पेश गर्न पत्राचार समेत गरेको छ । यस्तै, विभागले सिमेन्ट उद्योगको उत्पादनलाई रोक्न निर्देशन गर्दै गुणस्तरहीन सिमेन्ट बजारबाट फिर्ता लग्नसमेत निर्देशन दिएको छ ।

विभागमा महानिर्देशक विश्वबाबु पुडासैनीले बजार अनुगमनका क्रममा ंकलन गरेको नमूना विभागको प्रयोेगशालामा परीक्षण गर्दा तथा उद्योग निरीक्षण गर्दा सम्बन्धित नेपाल गुणस्तरबमोजिम नपाइएकाले नेपाल गुणस्तर (प्रमाण–चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम जगदम्बा सिमेन्टलाई कारबाही गरिएको जनाए ।

विभागका अनुसार जगदम्बाले उत्पादन गरेको पीपीसी सिमेन्टको तीन र सात दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएपछि कारबाही गरिएको हो । ‘कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः १६ र २२ हुनुपर्नेमा १५ र २० मात्रै थियो’, पुडासैनीले भने, ‘गुणस्तरहीन सामान बजार पठाउनु हुँदैन भनेर अहिले फिर्ता लग्न भनी कारबाही प्रक्रिया अघि बढाएका छौं ।’