December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

बन्दकर्ता छैनन् तर सबै क्षेत्र ठप्प

भैरहवा– नेपाल बन्दले मुलुकभरको जनजीवन प्रभावित भएको छ । अधिकांश क्षेत्र ठप्प छन् । बन्दको प्रभाव लुम्बिनी प्रदेशभर परेको छ । प्रदेश मुकाम बुटवल, भैरहवा, नेपालगंज, तुलसीपुर, घोराहीलगायत ठूला व्यापारिक तथा औद्योगिक सहर ठप्प भएका छन् । यातायात, उद्योग, कलकारखाना, शैक्षिक क्षेत्र, बैंक–वित्तीय संस्थामा पनि बन्दको प्रभाव छ ।

Advertisement

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज बन्द आह्वान गरेको हो । नेपाल बन्दको प्रभाव रुपन्देहीमा विहानैदेखि परेको छ । मुख्य बजार क्षेत्र सुनसान रहे पनि भित्री बजार र सडकहरुमा सवारीको सामान्य चलेका छन् । रुपन्देहीमा बन्दकर्ताहरुबाट अप्रिय गतिविधि भने भएको छैन ।

इन्धनमा गरिएको लगातार मूल्यबृद्धिको विरोधमा नेकपाले नेपाल बन्दको आह्वान गरेको हो । नेकपाले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर जनताको ढाड सेकेको आरोप लगाएको छ । श्रमिक जनताको पक्षमा लड्दै आएको पार्टी हात बाँधेर बस्न नसक्ने बताउँदै मूल्यवृद्धि खारेजीका लागि शान्तिपूर्ण नेपाल बन्दको आब्हान गरिएको उक्त पार्टीले जनाएको छ ।

हिजो नै नेकपा रुपन्देही जिल्ला कार्यालयको तर्फबाट नेपालबन्दबारे अपील जारी गर्दै राज्य संचालकले भ्रष्टचारी, कालोबजारिया र तस्करीहरुलाई कारवाही गर्नुको साटो संरक्षण र प्रोत्साहित गरेको भन्दै त्यसका विरुद्ध संघर्ष आवश्यक भएको बताएको छ । नेकपाले नेपालमा भइरहेको भ्रष्टाचार, कालोबजारी, तस्करी र राष्ट्रघातका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आइरहेको बताउँदै संसदीय व्यवस्थाका कारण देशको अर्थतन्त्र ध्वस्त भएको पनि बताएको छ ।

नेपाल बन्द विहान ५ बजेदेखि साँझ ६ बजेसम्म रहने नेकपाले बताएको छ । नेपाल बन्दको क्रममा अत्यावश्यक एम्बुलेन्स, दम्कल, दुधका गाडीहरु मत्र चल्न दिने नेकपा जनाएको छ । बन्दका कारण यी सवारी चले पनि अन्य भने चल्न सकेका छैनन् ।

सडकमा कार्यकर्ता छैनन् । तर बन्दको प्रभाव परेको छ । विगतमा भूमिगत राजीनित गर्दा पनि उक्त पार्टीले बन्द गर्दा यस्तै हुने गरेको थियो । रुपन्देही भैरहवामा उक्त पार्टीका कार्यकर्ता कोही पनि बन्द गराउन सडकमा नआएको प्रहरीले जनाएको छ । यद्यपि सुरक्षालाई ख्याल गरी प्रहरी परिचालन गरिएको छ । लुम्बिनी प्रदेशका अधिकांश जिल्लामै विप्लबका कार्यकर्ता सडकमा अवरोध गर्न आएका छैनन् ।

बन्दका बीच पनि ई–रिक्सा, मोटरसाइकल, चारपाँग्रे साना सवारी र केही ठूला सवारी चले पनि यात्रुबाहक सवारी भने चलेका छैनन् । नागरिकलाई अस्पतालसम्म पुग्न कठिन भएको छ । कार्यकर्ता सडकमा नआउँदा पनि सवारी नचल्नु भनेको राज्यसंयन्त्रको कमजोरी भएको स्थानीय कमल ज्ञवालीले बताए । उनले अस्पताल जानसमेत समस्या भएको बताए । भित्री सडकमा भने पसल खुलेका छन् । साना सवारी केही मात्रामा चलेका छन् । बजार क्षेत्र भने सुनसान छ ।