April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

पर्यटन बिकास सम्बन्धी छलफल

भैरहवा– लुम्बिनी प्रदेश र प्रदेश १ को पर्यटन बिकासका सम्बन्धमा दुबै प्रदेशका उद्योगी व्यबसायी बिच छलफल भएको छ । लुम्बिनी प्रदेशको अस्थायी मुकाम रुपन्देही र सुनसरी ईटहरीका उद्योगी व्यवसायी बिच पर्यटन उद्योगलाई केन्द्रमा राखेर उद्योग, व्यापार व्यवसाय प्रवद्र्धनका सन्दर्भमा सोमबार रुपन्देहीको भैरहवामा छलफल भएको हो ।

Advertisement

त्यस अवसरमा दुबै प्रदेशमा पर्यटन उद्योगको राम्रो सम्भावना रहेकाले पर्यटन प्रवद्र्धनको लागि एकले अर्कालाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । हालैमात्रै सौर्य एयरलाईन्सले बिराटनगर–भैरहवा, भैरहवा–बिराटनगर दैनिक सिधा उडान थालनी गरेको छ । यसले दुबै प्रदेशमा आन्तरिक पर्यटन प्रवद्र्धन पनि हुने र संगसंगै उद्योग तथा व्यापार व्यबसाय प्रवद्धनको लागि पनि नयाँ ढोका खुलेको उनीहरुको बुझाई छ ।

Advertisement

लुम्बिनीको भ्रमणमा आएको ईटहरी उद्योग बाणिज्य संघको टोलीलाई रुपन्देहीमा स्वागत गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले यसले लुम्बिनी र प्रदेश १ को समग्र पर्यटन बिकासको लागि नयाँ ढोका खुलेको बताए । उनले लुम्बिनी प्रदेशमा बुद्धजन्मस्थल लुम्बिनी मात्रै नभएर बिभिन्न जिल्लामा ऐतिहासिक तथा पर्यटकीय स्थलहरु रहेकाले लुम्बिनी भ्रमणको लागि प्रदेश १ का आम समुदायलाई संघका मार्फत सन्देश पठाए ।

त्यस्तैगरी ईटहरी उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेलले प्रदेश नं. १ मा उद्योग, व्यापार र पर्यटनको सम्भावनाको विषयमा जानकारी गराउँदै सौर्य एयरलाईन्सले थालेको भैरहवा–बिराटनगरको सिधा उठानले प्रदेश १ र लुम्बिनी प्रत्येक्ष जोडिएको भनाई राखे । उनले पनि लुम्बिनीका उद्योगी व्यबसायीलाई प्रदेश १ मा भ्रमणको लागि आमन्त्रण गरे ।

त्यस अवसरमा सौर्य एयरलाईन्सका भैरहवा शाखा प्रवन्धक जीतेन्द्र यादवले दुई प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सौर्यले बिराटनगर–भैरहवा सिधा उडान सुरु गरेको बताउँदै सहयोगको लागि समेत आग्रह गरे । ईटहरी उद्योग वाणिज्य संघको टोलीलाई बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष सहित उद्योग उपाध्यक्ष टंक गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलले स्वागत गरेका थिए ।

त्यस अवसरमा कोभिडजंग कार्की, कृष्ण दुलाल, पत्रकार दामोदर खनाल लगायतले सौर्यको बिराटनगर–भैरहवा सिधा उडानले लुम्बिनी र प्रदेश १ लाई जोड्ने पुलको काम गरेको भनाई राखे ।