December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

बर्दिया निकुञ्जमा विदेशी बढ्दै

भैरहवा– केही वर्ष यता पश्चिम नेपालको बर्दिया निकुञ्ज पर्यटनको गन्तव्य बन्दै गएको छ । दोस्रो चरणको कोरोण महामारीका कारण बन्द रहेको बर्दिया राष्ट्रिय निकुञ्ज गत असोज १ गतेबाट खुलेको छ ।

Advertisement

निकुञ्ज खुला भएपछि आन्तरिकसँगै विदेशी पर्यटकको आगमनले यहाँका पर्यटन व्यवसायीलाई भ्याईनभ्याई छ । गत असोज महिनामा ६ सय बढी पर्यटकले निकुञ्जको अवलोकन गरि फर्केको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । ‘ति मध्ये सय बढी बेलायत, फ्रान्स लगायत युरोपेली मुलकका पर्यटक छन्,’ उनले भने, ‘विदेशमा हवाई उडानपछि पर्यटक बढ्न थालेको यो निकै सुःखद् पक्ष हो ।’

दशै र तिहार बीचमा आन्तरिक र विदेशी पर्यटक बढेको छ । कार्तिक मसान्तसम्म एक हजार बढी पर्यटक भित्रिने अनुमान गरिएको छ । दैनिक ३५ देखि ४० पर्यटक निकुञ्जको अवलोकन गर्न थालेका छन् । यस वाहेक बाँके, कैलाली, दाङ, कपिलवस्तु, रुपन्देहीलगायत जिल्लाबाट शैक्षिक भ्रमणमा विद्यार्थी, शिक्षक र अभिभावक यहाँ आउने गरेका छन् ।

निकुञ्ज परिसरमा रहेको थारु संग्राहलय, गोही प्रजनन् केन्द्र, यहाँ थुनेर राखेको गैडा र बाघ हेरेर फर्कने पनि उत्तिकै रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए । बर्दिया निकुञ्जको प्रवेशद्वारको अभिलेख अनुसार जंगल सफारी गर्ने र मुख्यालय परिसरमा रहेका वन्यजन्तु हेर्ने पर्यटक आउने गर्छन् ।

गैडा क्याम्पका सञ्चालक पर्यटन व्यवसायी रामजी थापाले पर्यटकको मुख्य उद्देश्य शान्त वातावरणमा जंगल घुमघाम र बाघ हेर्ने उद्देश्य रहेको बताए । ‘यहाँ आउने धेरै जसोले बाघ हेरेर फर्कने गरेको र बाघ हेर्न नपाएका जंगल सफारी गरेर शान्त वातावरणमा रमाइलो गर्न पाउँदा पर्यटक खुशी हुन्छन्,’ उनले भने, ‘बाघ हेरेपछि पर्यटक निकै खुशी हुँदै फर्किने गर्छन् ।’

तीन कुने, किंग फिचर, कर्णाली नदीको भंगालो गेरुवा, चुरेको जंगल, बाघको आहारा चित्तल, बँदेल जस्ता जंगली जनावर प्रश्स्त भएकै कारण यहाँ बासस्थान बन्दै गएको छ । विगत छ वर्ष यता तिनकुनेमा बाघ फाटफुट रुपमा फेला पर्दै आएकामा अहिले प्रायः बाघ हेर्न सकिने यहाँ अवलोकन गर्न आउने पर्यटक बताउँछन् ।