December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

हवाई सेवामार्फत् जोडियो भैरहवा–विराटनगर

भैरहवा– विश्व पर्यटन केन्द्र लुम्बिनी (रुपन्देही) र मुलुककै औद्योगिक एवं पर्यटकीय क्षेत्र विराटनगर हवाई सेवामार्फत् जोडिएको छ । निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्स प्रालिले भैरहवा–विराटनगर–भैरहवा सिधा उडान सुरु गरेसँगै दुई गन्तव्यको यात्रा छोट्टिएको हो ।

Advertisement

‘रुपन्देही र विराटनगर दुवै औद्योगिक क्षेत्र हुन्, अझै लुम्बिनीको महत्व छँदैछ’, सौर्य एयरलाइन्स भैरहवा स्टेशन प्रबन्धक जितेन्द्र यादवले भने, ‘गाडीमा घण्टौं समय लगाएर विराटनगर–भैरहवा आउजाउ गर्ने समयावधी अब सौर्यले साँघुरो गराएको छ ।’

यसअघि भैरहवा–विराटनगर कुनै पनि एयरलाइन्सले सिधा उडान गरेका छैनन् । सौर्यले अन्तरप्रदेश हवाई सेवा विस्तार गर्ने सरकारी नीति र दुवै क्षेत्रको आर्थिक एवं पर्यटकीय विकासका लागि हवाई सेवा सुरु गरेको जनाएको छ । ‘सौर्यले विगत आठ वर्षदेखि सेवा दिँदै आएको छ’, यादवले भने, ‘अहिले यात्रुको सहजताका लागि यसलाई विस्तार गरेका हौं ।’

एयरलाइन्सले ५० सिट क्षमताको जेट विमानबाट लुम्बिनी र प्रदेश १ लाई जोड्ने गरी दैनिक उडान सुरु गरेको हो । ‘हामीले औद्योगिक क्षेत्र विराटनगर र रुपन्देहीलाई जोड्ने काम मात्र गरेका छैनौं’, प्रबन्धक यादवले भने, ‘विश्वमा परिचित बुद्ध जन्मस्थल लुम्बिनी र प्रदेश १ का पर्यटकीय क्षेत्रलाई जोड्ने काम र सहज यात्रा दिएका छौं ।’

हवाई सेवा सुरुपछि औद्योगिक र पर्यटकीय विकासमा टेवा पुग्ने कम्पनीको विश्वास छ । सौर्यको भैरहवा–विराटनगर उडान थपिएसँगै अब मुलुकभर गरी दैनिक उडान संख्या १० पुगेको छ । तीन वटा जेट विमानबाट सेवा दिँदै आएको एयरलाइन्सले अरु भन्दा सहुलियत, सुरक्षित र अनटाइम उडान गर्ने जनाएको छ ।

भैरहवा–विराटनगर जहाजलाई गन्तव्यमा पुग्न ४० मिनेट लाग्ने र यसको एकतर्फी भाडादर ६ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले अहिले विराटनगर, भद्रपुर, भैरहवा र धनगढीमा दैनिक उडान गरिरहेको छ । भैरहवामा–काठमाडौं मात्रै दैनिक तीन उडान गर्दै आएको छ । ‘हामीले अब चाँडै नै नेपालगन्ज र राजविराजमा पनि उडान सुरु गर्ने योजना बनाएका छौं’, यादवले भने ।

विराटनगरबाट सिधै विश्व पर्यटन केन्द्र लुम्बिनी उडान सुरुपछि यात्रु पनि खुशी छन् । विराटनगरबाट पहिलो उडानमार्फत् भैरहवा आएका यात्रु सचिन पोखरेलले सहज र आरामदायी यात्राले आफूहरु निकै खुशी भएको बताए । ‘म पहिलो उडानबाटै भैरहवा आएर लुम्बिनी घुमेँ’, उनले भने, ‘अब प्रदेश एकका उद्योगी–व्यापारी मात्रै होइन यहाँका तिर्थयात्री, भारत, बंगलादेशकासमेत लुम्बिनी छोटो यात्रामा आइपुग्नेछन् ।’ उनले लुम्बिनी र प्रदेश एकको समग्र विकासमा सौर्यको हवाई उडानले कोशेढुंगाको काम गरेको जनाए । सौर्यले यो रुटमा सोमबारदेखि नियमित उडान सुरु गरेको हो ।