December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

उद्योग–व्यापार संगठनको वार्षिक कार्ययोजना बैठक

भैरहवा– यहाँको उद्योग व्यापार संगठन (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श रुपन्देही) को वार्षिक कार्ययोजना बैठक सुरु भएको छ । बैठकले संगठनले वार्षिकरुपमा गर्ने कार्यक्रम तय गर्नुका साथै कार्यक्रम सफल पार्न योजना बनाउने छ ।

Advertisement

शनिबारदेखि बर्दियाको ठाकुरबाबा नगरपालिका–९, ठाकुरद्वारास्थित बर्दिया गैंडा क्याम्पमा सुरु बैठकले वार्षिक कार्ययोजनालाई मूर्तरुप दिने अध्यक्ष अनिलकुमार ज्ञवालीले जानकारी दिए । बैठकमा बोल्दै संगठनका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारीले विभिन्न आरोह–अवरोहका बीच संस्थामा यहाँसम्म आइपुगेको बताए । उनले वार्षिक कार्ययोजना बैठकले तय गरेका कार्यक्रमहरु सफल पार्न संगठनको सम्पूर्ण टिम लाग्नुपर्ने बताए ।

‘संस्थाको गरिमा बढेको छ, सबै मिलेर संस्थालाई थप अगाडि बढाउनुपर्छ’, भण्डारीले भने । बैठकमा संगठनको निर्वाचित कार्यसमितिको प्रथम बैठकको निर्णयबाट कार्यसमिति तथा सल्लाहकारहरुलाई प्रमाणपत्र वितरण गरिएको महासचिव सचिन रोक्काले बताए ।

त्यस्तै बैठकमा संगठनका कोषाध्यक्ष राममिलन यादवले आर्थिक वर्ष २०७८–७९ को अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका छन् । बैठकमा संगठनका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, परामर्श समिति सदस्य लगायतको उपस्थिति रहेको संगठनका उपाध्यक्ष रामचन्द्र रेग्मीले जनाए ।