December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

होटल संघका पूर्वअध्यक्ष गौतमदास श्रेष्ठको निधन

होटल संघ नेपालका पूर्वअध्यक्ष गौतमदास श्रेष्ठको निधन भएको छ। उनको सोमबार ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा ८३ वर्षको उमेरमा निधन भएको होटल संघले जनाएको छ।

Advertisement

उनको जन्म काठमाडौँको तुम्बहालमा वि.स. १९९५ सालमा पिता दुर्गादास श्रेष्ठ र माता हरिदेवी श्रेष्ठको कोखबाट भएको हो। उनले काठमाडौँको दरबारमार्गस्थित शेर्पा होटल र चितवनमा सफारी नारायणी होटल सञ्चालन गरेका थिए।

उनले होटल संघ नेपालमा आवद्ध रही सन् १९९३ देखि १९९८ सम्म होटल संघ नेपालको नेतृत्व गरेका थिए। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

होटल संघका अनुसार उनको निधनले समग्र पर्यटन क्षेत्रमा क्षति पुगेको छ। फ्रान्सबाट होटल म्यानेजमेन्ट अध्ययन गरेका उनले आफ्नो लामो समय होटल क्षेत्रमा बिताएका थिए।