December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

किसानलाई क्षतिपूर्ति दिन महासंघको आग्रह

भैरहवा– एमाले निकट अखिल नेपाल किसान महासंघ रुपन्देहीले वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले धानबालीमा क्षति पुगेको भन्दै किसानलाई उचित क्षतिपूर्ति दिन सरकारलाई आग्रह गरेको छ ।

Advertisement

यो प्रतिकुल परिस्थितिले रुपन्देही जिल्लाका कृषि क्षेत्रमा समेत ठूलो हानी, नोक्सानी, क्षति हुन पुगेकोमा महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । महासंघ रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद पन्थीले विज्ञप्ती जारी गर्दै विभिन्न स्थानहरुमा भएको धानबालीको क्षतिको यथार्थ विवरण संकलन गरी कृषि वस्तुहरुको उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसंग माग गरेका हुन् ।

विज्ञप्तीमा वर्तमान सरकारले कृषकहरुबाट उत्पादित धानको समर्थन मूल्य कायम गरे तापनि खरिदकर्ताको व्यवस्था नमिलाएकाले तत्काल प्रत्येक पालिकाका केन्द्रहरुमा कम्तीमा धान तथा कृषि उत्पादन संकलन केन्द्र स्थापना गरी खरिद प्रक्रिया व्यवस्थापन गर्न समेत महासंघले माग गरेको छ ।

‘कृषकहरुले समय र मौसम अनुसार गुणस्तरीय बिउ, मलखाद, आधुनिक कृषि औजार एवं विषादी लगायतका वस्तुहरु समयमा नपाउँदा रुपन्देही जिल्लाको प्रमुख मेरुदण्डको रुपमा रहेको कृषि उत्पादनमा दिनानुदिन ह्रास हँुदै आएको कुरा स्मरण गराउँछौ । स्थानीय तहमा रहेका कृषि शाखामार्फत कृषकहरुलाई उचित समयमा उचित सुविधा मिलाई उत्पादन बढाउने र उत्पादित वस्तुलाई सम्बन्धित सरकारी निकायहरुले व्यवस्था मिलाई दिन सरकारसंग जोडदार माग गर्दछ,’ विज्ञप्तीमा उल्लेख छ । विगत केही दिन यताको अविरल वर्षाका कारण थन्क्याउने बेला भएको धान बाली डुबानमा परेको छ ।